`

निजामती सेवा दिवस आज : सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह

Nepal One HD २२ भदौ २०८२ ७:१७
प्रमुख खबर

काठमाडौँ । आज (आइतबार) निजामती सेवा दिवस सरकारी कर्मचारीले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ ।

निजामती सेवासम्बन्धी ऐन पहिलो पटक २०१२ साल भदौ २२ मा पहिलो पटक जारी भएको स्मरणमा हरेक वर्ष आजको दिन निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती प्रशासनलाई स्थायी सरकारको रूपमा समेत लिने गरिन्छ । निजामती सेवामा झण्डै ८५ हजार कर्मचारी छन्।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा काठमाडौँमा हुने मूल समारोहमा वर्षभरी भएको काममा कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कारको घोषणा गरिन्छ ।

दिवसको अवसरमा आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवन अगाडिको प्रांगणबाट प्रभातफेरी निकाल्ने कार्यक्रम छ । बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने प्रभातफेरि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अघिल्लो वर्ष घोषणा गरिएको उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम छ । निजामती कर्मचारीलाई ढिलासुस्ती, प्रक्रियामुखी, काम पन्छाउने, समयमा निर्णय नगर्नेलगायतको आरोप लाग्ने गर्छ ।

सरल, सहज र पारदर्शी ढङ्गले सेवा दिन सूचना प्रविधिमैत्री सेवा, योग्यता, क्षमता र आवश्यकताका आधारमा अवसर, सरुवा, बढुवा र पुरस्कारको व्यवस्थाले सेवा प्रवाहमा चुस्तता ल्याउने र पारदर्शीता बढ्ने कर्मचारीको बुझाइ छ ।

संविधानविद् एवम् पूर्व–प्रशासक काशीराज दाहालले पनि सरकारी सेवालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग र पारदर्शीता हुनुपर्नेमा जोड दिएका छन् । अहिले निजामती सेवाका कर्मचारीले तीन तहका सरकार–संघ, प्रदेश र पालिकामा बाँडिएर काम गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *