काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । पदभार ग्रहण लगत्तै मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिएकी हुन् ।
मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन् । उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिइन् । उनले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिइन् ।
उनले भनिन्, ‘कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रुपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरु हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रुपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो । प्रशासनिक रुपमा जति गर्नुपथ्र्यो गरें । तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्याण्डल गर्न सक्दैन नि । त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरें ।’ पूर्व स्वास्थ्य सचिव समेत रहेकी उनले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सल्लाहकार समेत रहेकी थिइन् ।








