कृषिमा कम भविष्य देख्नेका लागि।।।


भोजपुर । यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन् ।
भोजपुरमा उत्पादन भएका कृषि उपजहरूले बाह्य जिल्लाका बजारमासमेत स्थान पाउन थालेका छन् ।सबै स्थानीय तहमा किसानले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन हुने तरकारी, अकबरे खुर्सानी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँ जस्ता सहरमा पुग्न थालेका छन् ।
सडकको सहज पहुँच भएका स्थानका किसानको फार्मबाट नै सोझै कृषि उत्पादन बाह्य जिल्लामा जाने अवस्था रहेको स्थानीय किसान रमिला श्रेष्ठ बताउछीन् । “कृषिकर्ममा बाँच्ने आधार बनेको छ,” उनले भनीन्, “व्यावसायिक रूपमा गरिएको तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ ।” सडकको सहज पहुँचका कारण बजारमा पु¥याउन सजिलो भएको किसानहरूको भनाइ छ ।
भोजपुरको पौवादुङमाका किसान ध्रुव राईले व्यावसायिक रूपमा फलफूल, खुर्सानी तथा तरकारीखेती गरिरहेका छन् । व्यावसायिक कृषिमा लागेर मनग्य आम्दानी गर्दै आएको उनको भनाइ छ । “खुर्सानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेको छु,” उनले भने, “व्यावसायिक कृषिबाट वार्षिक रु चार देखि छ लाखसम्म आम्दानी हुन्छ । कृषिमा लाग्न स्थानीय तहबाट पनि आवश्यक सहयोग पाइरहेको छु ।”
अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरिरहेका छन् । करिब पाँच वर्ष विदेश बसेर फर्किएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडो खेती सुरु गरेका हुन्। राईको फार्ममा अहिले एक हजारभन्दा बढी एभोकाडोका बिरुवा छन् । अबका केही वर्षभित्र ती बिरुवाले उत्पादन दिन सुरु गर्ने उनको भनाइ छ । सबै बिरुवाले आम्दानी दिँदा वार्षिकरूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए ।
सरकारले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषितर्फ आकर्षण बढेको देखिन्छ । पछिल्लो समय फर्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्या बढिरहेको छ । प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा आएसँगै कृषि क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको छ ।