नख्खु कारागारले भन्यो- फरार सबै कैदीहरूले आत्मसमर्पण गर्नू


ललितपुर । गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । नख्खु कारागारका सूचना अधिकारीले बिहीबार एक सूचना जारी गरेर मंगलबार भागेका रविसहितका सबै कैदीहरूलाई सम्पर्कमा आउन भनेको हो ।
उक्त सूचना जारी गरेर नख्खु कारागार प्रशासनले फरार भएका सबै कैदी र थुनुवालाई अविलम्ब आत्मसमर्पण गर्न औपचारिक अपिल गरेको छ।
उक्त सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने चेतावनी कारागार प्रशासनले दिएको छ ।
‘विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ’, कारागार प्रशासनले भनेको छ ।
कारागार प्रशासनले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
उक्त सूचना बारे कारागार प्रशासनका एक अधिकारीलाई सम्पर्क गर्दा ती अधिकारीले उक्त सूचना मंगलबार कारागारमा हुलहुज्जत गरेर निस्किएका रविको हकमा पनि लागु हुने बताएका छन् ।