काठमाडौं उपत्यकामा थपिए आठ एसपी, कसलाई कहाँ खटाइयो ?


काठमाडौं । काठमाडौँ उपत्यकाको संवेदनशिल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आठ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबारदेखि आठ एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए । उपत्यकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकालाई विभिन्न सेक्टरमा विभाजन गरिएको छ । प्रत्येक सेक्टरमा एक–एक एसपी खटाइएका छन् । यसअनुसार, बालनरसिंह राणा, दिपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।
काठमाडौं परिसर अपरेसन कमाण्डरको जिम्मेवारी एसपी पवन भट्टराईलाई दिइएको हो । सुरक्षा निकायका अनुसार अपरेसन योजनाअनुसार उपत्यकाभरि व्यापक गस्ती, निगरानी र सुरक्षा तैनाथीलाई सुदृढ पारिनेछ । यसअघि वृत्त अन्तर्गत डीएसपीको कमाण्डमा खटिँदै आएका थिए । वृत्तको इन्चार्जहरू पनि अहिले सेवामा फर्किन थालेका छन् । प्रदर्शनकारीहरूले काठमाडौँको मालिगाउँ बाहेक सबै वृत्त जलाएका छन् । ती जलेका वृत्तमा प्रहरी सरसफाइ गरिरहेका छन् । यस्तै केही संख्यामा नियमित काममा पनि फर्किएको खनालले बताए ।