मेरो होइन, देशको बारेमा सोच्नु होला : तोसिमा कार्की


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले अहिलेको समय देशको बारेमा सोच्नु पर्ने बताएकी छन् । नेतृ सुमना श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेपछि त्यसैसँग जोडेर कार्कीले पनि पार्टी छोड्न लागेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनले आपत्ति जनाउँदै आफ्नोबारेमा भन्दा अहिले देशको बारेमा सोच्न आग्रह गरेकी हुन् ।
‘तोसिमाले पार्टी छोड्यो भनेर समाचार बनाउन भ्याइसक्नु भएछ । अरे यार, कम्तिमा मेरोबारेमा लेख्दा मलाई त सोध्ने गर्नुस् । तोसिमाले के गर्छ या गर्दैन भन्ने साटो आज देश यस्तो विक्षिप्त अवस्थामा पुगेको छ । आफूले चाहिँ यो देशलाई के गर्न सक्छु सोच्नु होला,’ उनले भिडिओ सन्देशमा भनेकी छन्, ‘आज देश सोच्दै नसोचेको अवस्थामा पुगेको छ । भौतिकरुपले, मानसिक रुपले विक्षिप्त भएको छ। देश शून्यबाट उठाउनु पर्ने भएको छ । अफवाह फैलाउने काम नगरिदिनु होला ।’