अब विदेशबाटै सरकारलाई राजस्व तिर्न मिल्ने


काठमाडौं । सरकारले इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानीको सुरुवात गरिएको छ । बिहीबारको अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्त रुपमा राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुरुवात गरेका हुन् ।
राजस्व व्यवस्थापन सूचना प्रणालीमाको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुने जनाइएको छ । यसका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुनगई डिजिटल इकोनोमीको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।
यस भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कर्जा, अलिपे लगायतका अन्तराष्ट्रिय भुक्तानी नेटवर्कमा आवद्ध कार्डहरू मार्फत अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । अब त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूले सहजरुपमा यो सेवा लिन सक्नेछन् ।
यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा सरकारका अन्य निकायहरूमा पनि विस्तार हुँदै जाने जनाइएको छ ।