`

प्रचण्डले प्रक्रिया मिलाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने

Nepal One HD २ असोज २०८२ १८:१७
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रक्रिया मिलाएर नेतृत्व हस्तान्तरणका लागि पार्टीभित्र छलफल गरिरहेको बताएका छन् । संविधान दिवसको पूर्व सन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले आफूलाई सच्याइरहेको बताएका हुन् ।

‘तपाईहरूले देखिरहनु भएको छ, हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं । हामीले निश्चित विधि र प्रक्रियामा नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेका छौँ,’ उनले भने, ‘लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ । जनतासँग प्रत्यक्ष र सार्थक सम्बन्ध कायम गरेर हामी यो झण्डाको रक्षा गर्नेछौँ ।’

उनले कमजोरी स्वीकार्दै गलत विचार र नीति नलिएको तर व्यवहारमा चुकेको बताएका छन् । ‘संविधान दिवसको अवसरमा म स्वीकार गर्छु, कि हामीबाट पनि कमजोरी भए । हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं,’ उनले भने, ‘वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो भयो ।’

त्यस्तै प्रचण्डले सहिद, बेपत्ता परिवार, घाइते, अपांग र यातनापीडितको अपेक्षा पूरा गर्न नसकेको पनि स्वीकारेका छन्। उनीहरूको माग पूरा गर्न एक्लै सरकारको नेतृत्व गर्न संख्या नपुगेको पनि भनेका छन् । यस्तोमा गठबन्धन सरकार बनाउँदा समस्या आएको उनको भनाइ छ ।

‘सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपांग र यातनापीडित साथीहरूका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अलमलियौं । एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन। गठबन्धनको वाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो,’ उनले थप भनेका छन्, ’हामीले देशविरुद्ध कुनै राष्टघाती सम्झौता गरेनौं, कुनै काण्डमा मुछिएनौं, कुनै कलंकको टीका लगाएनौं, भ्रष्टाचारविरुद्ध जुधिरह्यौं तर जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा हामी कमजोर देखियौँ ।’

हेर्नुस् प्रचण्डको सम्बोधन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *