राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन सहजीकरण गरें : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् । आज (शुक्रबार) संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिया । मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । यसको हुनसक्ने सहजीकरणबारे रातभर बसेर राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन आग्रह गरे ।’
राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ । उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल उभिएकाले उनलाई धन्यवाद समेत दिए । प्रधानसेनापतिको भूमिका पनि प्रशंसनीय रहेको भन्दै उनले धन्यवाद दिए ।
उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडि नै उठाएको बताए । अहिले जेन जी आन्दोलन गर्नु पर्ने र दर्जनौँ युवाहरूले ज्यान गुमाउनु पर्ने परिस्थिति सिर्जना हुनु राम्रो नभएको उनले बताए । अहिले ठूला दल भनेर अहंकार गर्दा देश भयानक परिस्थितिमा आएको समेत उनको तर्क छ ।
‘यति धेरै अहंकार ठूला भन्ने पार्टीहरूले गरे । यो अहंकारले कहीँ न कहीँ भोलि जनताले बढार्छन् भनेर मैले पटक पटक भनेको थिए । यो अहंकारको मूल्य धेरै चर्को पर्नेछ, जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ यो कुनै बेला विस्फोट हुनसक्छ भनेर स्मरण गराएको थिए’, उनले भने । जेन जी आन्दोलन सही छ भन्ने नै माओवादी पहिलो पार्टी रहेको उनले जिकिर गरे । भदौ २३ गते नै आफूहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा नसुनेका कारण २४ गते अर्को घटना भएको उनले बताए ।
त्यसैगरी, अध्यक्ष प्रचण्डले जुरमुराएर अगाडी बढ्न आग्रह गर्दै उनले अगाडि भने, ‘हामी हीनताबोधका बाच्नु पर्ने कुनै आवश्यकता छैन । हामीले गर्वका साथ भन्न सक्छौँ । हामी सही थियौँ । हामीले महान् ऐतिहासिक विद्रोह गरेर यो देशका सबै वर्गलाई अधिकार दिलाउने महान् काम गरेका थियौँ ।’