`

प्रचण्ड ‘क्रमभङ्ग’ का लागि तयार

Nepal One HD ३ असोज २०८२ १२:४८
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला भनिने दलहरूको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेहरूको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो पार्टी फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको दाबी गरे । माओवादी केन्द्रले विगतमा थुप्रै कमी कमजोरी गरे पनि आत्मसमीक्षा गर्दै सुधारको बाटो लिएको पनि प्रचण्डले बताएका छन् ।

‘कम्तीमा पनि इतिहास र वर्तमानको समीक्षा गरेर हेर्दा माओवादी केन्द्रले बीचमा कमजोरीहरू गरेको स्वीकार्छ तर हामी फरक छौँ, अरू जस्तै होइनौँ’, उनले भने, ‘साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अरू जस्तै हो भन्ने भाष्य बनाउन खोजे पनि त्यो सत्य होइन ।’ अहिलेको जनभावना कसरी सम्बोधन गर्ने भन्नेबारे नेतृत्व सजग रहेको खुलाउँदै प्रचण्डले आवश्यक परे जस्तोसुकै क्रमभंग गर्न तयार रहने स्पष्ट पारे ।

‘के गरी जनभावना सम्बोधन गर्ने भन्ने कुरा नेतृत्व, तपाईं हामीलाई थाहा छ। निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ,’ प्रचण्डले भने । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको उल्लेख गरे ।

१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उनले बताए । प्रचण्डले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेकोमा गर्व गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रचण्डले संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी हो भनेर तुलना गर्न खोज्नु इतिहासप्रति, जनताप्रति गहिरो र ठूलो विश्वासघात हुन जाने तर्क गरे । उनले भाद्र २४ गते जेनजीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप लगाए । प्रचण्डले अन्तरिम सरकार गठनको प्रक्रियामा गएर भएपनि संविधान बचाउने काममा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको बताए । त्यस्तै प्रधानसेनापतिको भूमिका पनि निकै सकारात्मक देखिएको उनले बताए । प्रचण्डले घोषित मितिमा नै निर्वाचन गरि जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने चाहना रहेको उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *