डुङ्गेश्वरका लेखा अधिकृत कार्की एक लाख घुससहित नियन्त्रणमा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवतबापत रु एक लाख माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजले सेवाग्राहीसँग रु एक लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ मङगलगडी चोकबाट नियन्त्रणमा लिइएको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।