`

नारायणगढ–मुग्लिन सडक आज रातभर नखुल्ने, पहिरो पन्छाउन रोकियो

Nepal One HD ४ असोज २०८२ २०:०४
समाचार

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड आज (शनिबार) पनि रातभर नखुल्ने भएको छ । सडक खण्डको पहिरो पन्छाउने काम आज (शनिबार) साढे ६ बजेदेखि रोकिएको छ ।

लगातार पहिरो खसिरहेको कारण पन्छाउन जोखिम भएकाले आजको लागि काम रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । रातको समयमा बत्तीको सहाराले भए पनि पहिरो पन्छाउने तयारी गरिए पनि साढे ६ बजे नै ठूलो पहिरो खसेपछि जोखिमका कारण पहिरो पन्छाउन रोकिएको हो ।

उनले पहिरो पन्छाउने काम भोलि बिहानैदेखि सुरु गर्ने जानकारी दिएका छन् । आज रातभर पहिरो नखसेको अवस्थामा भोलि दिउँसोदेखि यातायात सञ्चालन गर्न सकिने अनुमान गरिए पनि पहिरो निरन्तर गइरहेका कारण यातायात पन्छाउने कतिबेला सकिन्छ भन्ने यकिन नभएको एसपी पुरीले बताए ।

नारायणगढ–मुग्लिन सडकको तुइनखोला नजिक पहिरो खसेको कारण चितवन भएर गुड्ने एक हजारभन्दा बढी गाडी सडकमा अलपत्र परेका छन् । तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।

हिजो दिउँसो ४ बजेदेखि नै रोकिएका यात्रुलाई खानेकुरा पानी लगायतको समस्या भएपछि आज जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा यात्रुहरुलाई पानीसहित खानेकुुरा वितरण गरिएको छ । दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *