`

‘भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस्’

Nepal One HD ४ असोज २०८२ २०:५१
राजनीति

काठमाडौँ, ४ असोजः गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा सहिद भएका परिवार र घाइतेहरूले सहिदको रगत र घाइतेको योगदानमाथि खेलबाड नहोस् भन्ने चाहना रहेको बताउनुभएको छ ।

आज संवाद डबलीमा आयोजित कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस् भन्नेमा जोड दिनुभएको हो । उहाँहरूले सहिदले कसैलाई सत्तामा पुर्‍याउनभन्दा पनि समाजमा व्यप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान दिएका बताउनुभयो ।

प्रदर्शनमा घाइते हुनुभएका अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्‍याउनका लागि प्रदर्शन नगरेको बताउनुभयो । उहाँले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस् कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरणमा बसेको बताउँदै घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर नजाओस् भनेर कामना गर्नुभयो । घाइतेका आफन्त सरस्वती रावलले घाइतेहरू अस्पतालको शय्यामा आफ्नो योगदान खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेका बताउनुभयो ।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि आफूहरूले प्रदर्शन गरेको बताउनुभयो । उहाँले विज्ञसहितको सहभागितामा मन्त्रिपरिषद् विस्तार, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्यलगायत सेवा निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकको सम्पत्ति छानबिनलगायत माग जेनजीको रहेको जानकारी दिनुभयो ।कार्यक्रममा जेनजी प्रदर्शनका अगुवा प्रकाश रावलले गत भदौ २३ गतेको प्रदर्शन देशको मुहार फेर्न र सकारात्मक परिवर्तनका लागि भएको धारणा राख्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *