अमेरिकाले खोज्यो एमसीसी कार्यान्वयनमा सरकारको थप प्रतिबद्धता


काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबीच आज (सोमबार) अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको हो ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताए ।
अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे । अमेरिकी राजदूतले एमसीसीको सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताए । अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूमा ढिलाइ नहुने विश्वास दिए ।
सो अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फबाट हुँदै आइरहेको निरन्तर सहयोगको सराहना गर्दै र भविष्यमा समेत यस प्रकारको सहयोग प्राप्त भइरहने आशा व्यक्त गरे । उक्त बैठकमा अर्थसचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदूतावासका पदाधिकारीहरुको समेत उपस्थति रहेको थियो ।