मन्त्री घिसिङले गरे जलविद्युत आयोजनाको निरीक्षण


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको आज दोस्रो दिन सञ्चालन भइरहेको छ ।
चिलिमे जलविद्युत कम्पनीको प्रवन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो । उक्त आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ । तर, जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोधलगायतका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो ।