मुख्य सडकको दुर्दशा : चाडबाडमा घर फर्किनेलाई सास्ती


काठमाडौं । बर्खाले भत्किएका र खाल्डा परेका सडक समयमै मर्मत सम्भार नहुँदा यो बर्ष पनि चाडबाडको मुखमा सर्वसाधरणले यात्रामा समस्या भोग्नु परेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउनेहरुलाई सुरक्षित रुपमा घर पुगिने हो कि होइन भन्ने चिन्ता छ । वीपी राजमार्गमा जेनतेन गाडी चलिरहेको भए पनि अहिले नारायणगढ–मुग्लिन सडकले चालक र यात्रु सबलाई दुःख दिइरहेको छ । कतिबेला पहिरो झरेर कहाँ अलपत्र पर्नुपर्ने हो ? सडकमाथिबाट खस्ने ढुङ्गाले कसलाई लाग्ने हो मनमा सँधै चिन्ता लिएर यात्रा गर्नुपर्ने वाध्यता छ ।
नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन सुरु
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज –बुधबार) बिहानबाट थालिएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।
त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनका एसपी गोविन्द पुरीले बताए ।
एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’
पहिरो खसे लगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । सडकमा सवारी साधनहरुको लामो जाम देखिन्छ । सवारी साधनहरुको लाइन कुरिनटारसम्मै देखिन्छ ।
समयमै ध्यान नदिंदा मुख्य सडककै दुर्दशा
देशका मुख्य राजमार्ग पहिरोले भत्किँदा र ठुल्ठूला खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन समस्या भएको छ । जसकारण दशैंका बेला गाउँघर फर्केका सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
पृथ्वी राजमार्ग, नारायणगढ–बुटवल सडकखण्ड, अरनिको राजमार्ग, पासाङल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले सवारीसाधनमा यात्रा गर्नेले सास्ती खेपेका हुन् । बर्खामा गएको पहिरोले सडक कटान गर्दां तथा माटोढुंगा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसकारण लामो दूरीका सडकमा यात्रु गर्ने घण्टौं जाममा पर्नुपरेको छ ।
अहिले लामो दूरीका सबैजसो सडक कहीँ न कहीँ भत्किएका छन् । सडकमा खाल्डाखुल्डी तथा एकतर्फ हुँदा दशैँका घर फर्कने यात्रुहरूले दुःख पाइरहेका छन् । वर्षात भर्खर सकिएकाले सडक तत्काल मर्मत गर्न कठिन भइरहेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो समयमा सबैजसो सडक एकतर्फी रूपमा सञ्चालन भएको जानकारी दिए । उनले भने, ‘अहिले सबैजसो सडकमा खाल्डाखुल्डी छन्, कहीँकतै पुर्ने काम पनि भइरहेको छ, पानी परिरहेका कारण समयमै सडक मर्मत गर्न नसकिएको हो ।’
सडक अप्ठ्यारो भएर यात्रा गर्न कठिन हुने भएपछि महँगो भए पनि सर्वसाधारणले हवाई यात्रा रोज्न थालेका छन् । लामो दूरीको सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेको र समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था भएपछि हवाई यात्रा गर्नेहरूको संख्या बढेको हो । दशैँ सुरु भएसँगै अन्य दिनको तुलनामा हवाई यात्रा गर्नेको संख्या दोब्बर छ ।
यो समयमा वायुसेवा कम्पनीहरूले अन्य समयमा भन्दा बढी उडान भर्न थालेका छन् । दशैँ सुरु भएयता बुद्ध एयरले दैनिक एक सय ४२ भन्दा बढी उडानमार्फत नौ हजारभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले १५ वटा जहाजमार्फत उडान भर्दै आइरहेको जानकारी दिए । यो वर्ष दसैँका टु–वे नै यात्रुको चाप उस्तै रहेको उनको भनाइ छ ।
बेहाल नारायणगढ–बुटवल सडक
नारायणगढ–बुटवल सडकखण्ड निर्माण कार्य सुरु भएको साढे दुई वर्षमा आठ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीकै ढिलासुस्तीले पूर्व–पश्चिम जोड्ने राजमार्ग चौडा तथा मर्मत कार्य समयमै हुन नसकेको हो । लामो समयदेखि निर्माण कार्य सुरु भएको सडकखण्ड नबन्दा दशैँको वेला घर फर्कने यात्रुहरूले निकै सास्ती खेप्नुपर्ने भएको छ । करिब तीन घण्टामा पार गर्न सकिने यो सडक खण्ड अहिले पार गर्न पाँच घण्टाभन्दा बढी समय लाग्छ ।
चितवन नारायणगढदेखि बुटवलसम्म पुग्दा कैयौँ खाल्डाखुल्डी छन् । ०७५ फागुनमा सुरु भएको यो आयोजनाको म्याद ०७९ साउनमा सकिँदै छ । तर, ४२ महिनाको समय सीमा राखेर निर्माण कार्य भइरहेको यो सडक खण्डको प्रगति जम्मा आठ प्रतिशत मात्रै भए पनि एक अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई दिइएको छ ।
ठेकेदार कम्पनीले दुई खण्ड छुट्याएर सडक चौडा पार्ने कार्य सुरु गरेको थियो । जसमा पूर्वी–खण्डअन्तर्गत नारायणगढदेखि दाउन्नेसम्म ६५ किमि र पश्चिम–खण्डमा दाउन्नेदेखि बुटवलसम्म ४८ किमि सडक पर्छ । तर, दुवै खण्डको कार्य प्रगति हेर्दा जम्मा आठ प्रतिशत मात्रै काम भएको सडक विभागले जनाएको छ ।
विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्ष अत्यधिक वर्षा भएकाले सडक चौडा तथा मर्मत कार्य ढिलो भएको बताए । हाल २२ वटा पुल र एक सय २० वटा कल्भर्टको काम भइरहेको छ । बुटवलतर्फ १३ किमि मात्रै सडक चौडा पारिएको छ । दुवै खण्डतर्फ ४५ जना चिनियाँ र पाँच सय हाराहारी नेपाली कामदार खटिएका छन् । आगामी चार महिनाभित्र सडक साइटका बिजुलीका पोल हटाउने लक्ष्य राखिएको छ ।
सडक असुरक्षित छ : सरोज सिटौला
दशैँ सुरु भएसँगै आमसर्वसाधारण गाउँघर फर्कने क्रम बढेको छ । गन्तव्यमा सहजै पुग्न उनीहरू भरपर्दो सडक–सवारीको खोजीमा छन् । तर, हाम्रो सडक हेर्दा यात्रा गर्न मन नलाग्ने किसिमका छन् । दशैँको मुखमा सडक नबनाउँदा आमयात्रु व्यवसायीहरूले दुःख खेप्नुपर्छ ।
दशैंको बेलामा बाहिरिने र उपत्यका भित्रिनेको संख्या उस्तै
हरेक वर्ष घटस्थापनापछि उपत्यका बाहिरिनेको संख्या बढ्छ । यस अवधिमा निकै कम मानिस काठमाडौं प्रवेश गर्छन् । तर, यो वर्ष दशैँ सुरु भएसँगै उपत्यका बाहिरिने र भित्रिनेको संख्या उस्तै छ । घटस्थापना सुरु भएदेखि उपत्यका प्रवेश गर्नेको संख्या पनि बढेको छ । दशैँको वेला बाहिरिने यात्रुहरूको संख्या बढी हुनुपर्नेमा भित्रिनेको संख्या पनि बढेको देख्दा ट्राफिक प्रहरीले संख्याबारे अनुमान गर्न सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० असोजयता आइतबार साँझसम्म पाँच लाख ९० हजार ९९ जना यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिनेको संख्या पाँच लाख एक हजार नौ सय छ । दशैैँका वेला उपत्यका भित्रिनेको संख्या बढी हुनुमा वैदेशिक रोजगार हुन सक्ने प्रहरीको अनुमान छ ।
‘जति मानिस उपत्यका बाहिरिएका छन्, त्यति नै संख्यामा भित्रिएका छन्, यो वर्ष कति यात्रुले उपत्यका छाड्छन् भन्ने अनुमान गर्न मुस्किल छ,’ महाशाखाका एसपी सञ्जीव शर्मा दासले भने, ‘विगतका वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन जानेको संख्या कम हुने हाम्रो अनुमान छ, जति बाहिरिएका छन् उति नै भित्रिएका पनि छन् ।’ उनका अनुसार बिहीबार करिब ६० हजार र शुक्रबार ५० हजार मानिस बाहिरिएका छन् । फूलपातीदेखि यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।
साढे ११ किलोमिटर भैंसे–भीमफेदी सडक पार गर्न एक घण्टा
भैंसे–भीमफेदी सडकखण्ड अलपत्र अवस्थामा छ । ११.५ किलोमिटर सडक पुनर्निर्माणको काम एक वर्षअघि सुरु भएको थियो । काठमाडौंबाट हेटौँडा हुँदै तराईका विभिन्न जिल्ला आवतजावतका लागि प्रयोग गरिने यो सडक पुनर्निर्माणको काम अलपत्र हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । दैनिक पाँच सयभन्दा बढी साना सवारीसाधन आवतजावत गर्ने सडक अलपत्र हुँदा दशैँका लागि काठमाडौंबाट घर फर्किने यात्रुले बढी समस्या भोग्नुपर्ने अवस्था छ ।
साढे तीन घण्टामा काठमाडौं–हेटौँडा यात्रा गर्न सकिने सडक भैँसे–भीमफेदीमा ११.५ किमि अलपत्र हुँदा पाँच घण्टा बिताउनुपर्ने बाध्यता रहेको टाटासुमो चालकहरू बताउँछन् । यो सडकमार्फत तराईका विभिन्न जिल्ला र हेटौँडाबाट सयौँ टाटासुमोमा यात्रुले आवतजावत गर्दै आएका छन् । ‘विगतमा भैँसेबाट भीमफेदी पुग्न २० मिनेट लाग्थ्यो, अहिले सडक भत्काइएको र डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण एक घन्टा लाग्ने गरेको छ,’ टाटासुमोचालक कृष्ण श्रेष्ठले भने ।
नारायणगढ–मुग्लिन सडक यात्रा मौसमको भरमा
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गलाई मुलुकको लाइफलाइनका रूपमा लिने गरिन्छ । तर, यी दुवै राजमार्ग भएर यात्रा गर्न भने निकै जोखिमपूर्ण छ । सामान्य झरीमै सडकमा माथि पहाडाबाट पहिरो खस्ने गर्छ । त्यस बाहेक सडक भासिने अर्को समस्या हो । दुवै सडक खण्डकमा ठाउँठाउँमा भासिएको देख्न सकिन्छ । जसले गर्दा पनि यात्रुले कष्टकर महसुस गर्ने गरेका छन् ।
नदी र पहाडको बीचको सडक भएकाले पनि यो सडक यात्राका लागि जोखिमपूर्ण मानिन्छ । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापाले मौसमले साथ दिएमा यो सडक हँुदै यात्रा गर्न सहज रहेको बताए । वर्षा भएमा पहिरो र सडक भासिने समस्या भने कायम रहेको उनको भनाइ छ । नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सडक केही ठाउँमा भासिए पनि सवारीसाधन आवतजावत भने रोकिएको छैन । तर, अझै पनि पानी पर्ने गरेकाले पहिरोको जोखिम भने कायमै छ ।