प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् । आज (बिहीबार) बाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।
त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एवं संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।
बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केहि नेताले आपत्ति जनाएका छन् । माओवादी नेता रन्जित तामाङ, सुदन किरातीलगायतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भने, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’ उपमहासचिव शर्मा अगाडि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोलेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने र पार्टीको महाधिवेशन चुनाव पछाडि गर्नुपर्ने श्रेष्ठको प्रस्ताव छ ।
चुनाव पछाडि महाधिवेशन गरेपनि अध्यक्ष प्रचण्डले भने अहिले नै राजीनामा दिनुपर्ने उनको आग्रह छ । बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व भने अहिले नै छाड्नुपर्ने श्रेष्ठको आग्रह छ । श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यबाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।’ यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष माग गरेका थिए ।
‘…नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्यो भनेर माग गर्नु भएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले गत सोमबार भनेका थिए । केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले जनाएको छ ।