प्रचण्ड, नारायणकाजी र जनार्दनको प्रस्तावको विपक्षमा उभिए राम कार्की


काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रस्तुत तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र संयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरु भंग गरौ’ कार्कीको प्रस्ताव छ ।
बाँकी बोल्ने नेताहरूले भने अध्यक्ष प्रचण्डको प्रतिवेदनको समर्थन गरेका छन् । हालसम्म पदाधिकारीतर्फबाट नेताहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव बोलेका छन् । उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।
महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ । उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।
प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।
उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ । तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।