प्रचण्डले भने–अब म माओवादीको अध्यक्ष रहिनँँ


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको दावी गरेका छन् । बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौं । अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ ।’
माओवादीले आज केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन घोषणा गरेको छ । महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने गरी अध्यक्षलाई संयोजक तोकिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
हेर्नुस् माओवादी केन्द्रको सातौं पूर्ण बैठकका निर्णय
–केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
–पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने ।
–नेपोटिज्म (नातावाद, आफन्तवाद) बारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने। संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।
–जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
–आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
–अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
–विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।