गृह मन्त्रालयले भन्यो–अन्य पक्षलाई उक्साहट हुने गरी कुनै कार्यक्रम नगर्नू


काठमाडौं । सरकारले अहिलेको अवस्थामा सभा सम्मेलन र विरोधका कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण र अन्य पक्षलाई उक्साहट नहुने गरी गर्न अनुरोध गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिवार विज्ञप्ति जारी गर्दै अहिंसात्मक हुने गरी अन्य पक्षलाई असर नपर्ने ढंगले कार्यक्रम गर्न भनेका छन् । एमाले निकट युवा संघले आज गर्न लागेको दशैं भेटघाटको पूर्व सन्ध्यामा गृह मन्त्रालयले यो विज्ञप्ति निकालेको हो । नेकपा एमाले निकट युवा संघले आज दिउँसो १२ बजे भक्तपुरको गुण्डुमा चियापान तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम गर्दैछ ।
जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओली औपचारिक कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन् । भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका ओलीले केही दिनदेखि एमालेका नेता–कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् । भक्तपुरमा युवा संघले कार्यक्रम राखेपछि अहिले भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।