`

१२ जिल्लामा नयाँ सीडीओ, ६ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत शुक्रबार उक्त सरुवा गरेको हो । सरुवा हुनेमा १२ जना सीडीओ, हालै बढुवा भएका सापकोटासहित ७ जना पदस्थापन भएका हुन् । यीमध्ये ६ जना सहसचिव र एक जना उपसचिव हुन् ।

शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलहा, सिन्धुपाल्चोक, तनहुँ इलाम लगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन् । निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारीलाई खटाउने निर्णय भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दिपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटालाई खटाइएको छ । सरुवाअनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ । अन्यलाई सरुवा गरिएको हो । कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई सरुवा गरिएको छ । यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी थिए ।

एक सीडीओ र दुई सहायक सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले एक सीडीओ र दुई सहायक सीडीओ सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो ।

त्यस्तै जिप्रका दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सप्रजिअ शावित्रा पुनको पनि सरुवा गरेको छ । बुढा अछाम पुगेका छन् भने पुन दाङमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

 

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको दावी गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार सफल हुँदै गएको दाबी गरेका हुन् ।

जेनजी युवाले भाद्र २३ र २४ गते गरेको प्रदर्शनपश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्रासदिपूर्ण अवस्थालाई पार लगाउन सरकार सफल भएको बताए । ‘अहिले सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ । नत्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव थिएन,’ गृहमन्त्री अर्यालले भने, ‘सुशासन प्रबद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारले पूरा गर्छ ।’ उनले सरकारले सुशासन र निर्वाचनलाई मूलमन्त्र मानेर काम गरिरहेको बताए ।

‘विभिन्न बहाना गरेर चुनाव हुँदैन भन्ने र यो सरकारले चुनाव गर्न सक्दैन भन्ने कुरा कहीँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ । दिइरहेको छ,’ अर्यालले भने । उनले वर्तमान सरकार कसैको निगाहामा नबनेको बताए । ‘हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका पनि होइनौँ,’ उनले भने, ‘देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा हामी सरकारमा आएका हौं ।’ उनले आफूमा कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ नभएको पनि दाबी गरे ।

‘प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ,’ गृहमन्त्री अर्यालले भने ।
छोराछोरी पुस्ताले कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाउँदा पनि नसच्चिने, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकुलतामा ब्याख्या गर्दै जाने हो भने फेरी अर्को दुर्घटना हुनसक्ने चेतावनी पनि उनले दिए । ‘अभिव्यक्ति दिइरहँदा यसतर्फ पनि सोच्न जरुरी छ,’ गृहमन्त्री अर्यालले भने ।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका काममा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको उनले बताए । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने विश्वाससमेत उनले व्यक्त गरे । राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको प्रसंगमा उनले धेरै परिणाममा विशेष अपरेसन मार्फत् लुटिएका हतियार फिर्ता ल्याइसकेको बताए। ‘ठूलो संख्यामा कैदीहरू पनि कारागार फिर्ता भैसकेका छन्,’ उनले भने ।

गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र समग्र देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जरो मूलबाट नै नियन्त्रण गर्न प्रदेश सरकारले पनि उत्तिकै काम गरिरहेको बताए । उनले फागुन २१ को चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न पनि लुटिएका सबै हतियार फिर्ता हुनुपर्ने र बाहिर रहेका कैदी बन्दी पुन पक्राउ गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले सबै तहका सरकार अहिले विशेष परिस्थितिमा रहेको भन्दै अहिलेको मुख्य कार्यभार देशमा शान्ति सुरक्षा कायम गरेर निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले प्रदेशको समग्र सुरक्षा चुनौती पहिचान गर्दै यसका लागि आवश्यक रणनीती बनाएर काम गर्न गोष्ठी सहयोगी हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु दान बहादुर कार्की, राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी प्रेमबहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको सहभागिता छ ।

 

सात जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ५८ जना कर्मचारीहरूको सरुवा गरेका हुन् ।

मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला, पाँचथरमा नयाँ सीडीओ पठाइएको हो । मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दिपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई सीडीओ बनाएर पठाइएको हो ।

हेर्नुस् सरुवा सूची

 

गृहले भन्यो–प्रदर्शनमा घुसपैठ हुनसक्छ, आन्दोलनका कार्यक्रम नगर्नू

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत विभिन्न समूहले आह्वान गरेका धर्ना, जुलुस तथा विरोध प्रदर्शनका कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यक्रममा देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले घुसपैठ गरी अशान्ति र अराजकता फैलाउन सक्ने भन्दै आयोजकहरूलाई सचेत गराएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘जेन–जी’ पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण बनाउन केन्द्रित रहेको उल्लेख छ ।

सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन तथा राजनीतिक दलहरूसँग संवाद गरिरहेको अवस्थामा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले आफ्ना माग राख्दा आम जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबैलाई आग्रह गरेको छ । साथै, मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवद्र्धनमा योगदान गर्न पनि अपिल गरिएको छ ।

‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

देशभरका सीडीओ कार्यालयलाई गृह मन्त्रालयको ६३ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयहरुलाई ११ फरक विषयहरूमा ६३ बुँदे निर्देशन दिएको छ । शान्ति सुरक्षा तथा अपराध अनुसन्धान, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाह सहजीकरण, निर्वाचन सुरक्षा लगायतका विषयमा निर्देशन दिएको हो । जेनजी आन्दोलनपछि तत्काल र दीर्घकालीन रुपमा देखा पर्ने सुरक्ष चुनौतीहरु पहिचान र विश्लेषण गर्ने, त्यसका लागि सूचना संकलन गर्ने निर्देशन दिएको छ ।

७ पेज लामो ११ फरक विषयहरुमा मन्त्रालयले दिएको निर्देशनमा निर्वाचन सुरक्षाका विषयहरु पनि औंल्याइएको छ । जहाँ २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि सबै सरोकारवालहरुसँगको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातारण बनाउँदै लैजानुपर्ने उल्लेख गरिएको छ ।

निर्देशनका मुख्य बुँदा :
शान्ति सुरक्षा र अपराध नियन्त्रणः जिल्लाभित्रको समग्र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । लागुऔषध, अवैध मदिरा, र अन्य गैरकानूनी गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न भनिएको छ।

सेवा प्रवाह र सुशासनः जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई सरल, सहज र पारदर्शी बनाउन, अनावश्यक झन्झट हटाउन र प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिइएको छ । कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने र नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउन पनि भनिएको छ । विपद् व्यवस्थापनः मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न, खोज, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न र तत्काल परिचालन हुन सक्ने गरी संयन्त्र बनाउन निर्देशन दिइएको छ ।

आसन्न निर्वाचन तयारीः फागुन २१ मा तोकिएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ। साथै निर्वाचनविरोधी गतिविधि र भूमिगत समूहद्वारा हुने गतिविधिको पहिचान तथा नियन्त्रणमा जोड दिइएको छ ।

बजार अनुगमन र नियन्त्रणः चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्न निर्देशन दिइएको छ । सूचना तथा सञ्चारः सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह र गलत सूचनाप्रति चनाखो रहँदै सत्यतथ्य जानकारी तत्काल प्रवाह गर्न र जिल्लाको शान्ति सुरक्षामा खलल पार्न सक्ने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न निर्देशनमा उल्लेख छ ।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति

 

गृह मन्त्रालयले भन्यो–संवादबाट समस्याको समाधान खोजौं

काठमाडौं । सरकारले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग अपिल गरेको छ । गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।

नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवं छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयले धर्ना जुलुसलगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्ने खोज्न अनुरोध गरेको छ। नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्तिसुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशमा शान्तिसुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आमनागरिकको समेत दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ ।

गृह मन्त्रालयले भन्यो–अन्य पक्षलाई उक्साहट हुने गरी कुनै कार्यक्रम नगर्नू

काठमाडौं । सरकारले अहिलेको अवस्थामा सभा सम्मेलन र विरोधका कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण र अन्य पक्षलाई उक्साहट नहुने गरी गर्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिवार विज्ञप्ति जारी गर्दै अहिंसात्मक हुने गरी अन्य पक्षलाई असर नपर्ने ढंगले कार्यक्रम गर्न भनेका छन् । एमाले निकट युवा संघले आज गर्न लागेको दशैं भेटघाटको पूर्व सन्ध्यामा गृह मन्त्रालयले यो विज्ञप्ति निकालेको हो । नेकपा एमाले निकट युवा संघले आज दिउँसो १२ बजे भक्तपुरको गुण्डुमा चियापान तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम गर्दैछ ।

जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओली औपचारिक कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन् । भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका ओलीले केही दिनदेखि एमालेका नेता–कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् । भक्तपुरमा युवा संघले कार्यक्रम राखेपछि अहिले भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

फेरियो उपत्यका प्रहरीको कमाण्ड, एआईजी कार्कीलाई जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । उनको ठाउँमा एआईजी दानबहादुर कार्की खटिएका छन् ।

सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ ।