`

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री अर्याल

Nepal One HD ९ मंसिर २०८२ १२:१५
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको दावी गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार सफल हुँदै गएको दाबी गरेका हुन् ।

जेनजी युवाले भाद्र २३ र २४ गते गरेको प्रदर्शनपश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्रासदिपूर्ण अवस्थालाई पार लगाउन सरकार सफल भएको बताए । ‘अहिले सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ । नत्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव थिएन,’ गृहमन्त्री अर्यालले भने, ‘सुशासन प्रबद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारले पूरा गर्छ ।’ उनले सरकारले सुशासन र निर्वाचनलाई मूलमन्त्र मानेर काम गरिरहेको बताए ।

‘विभिन्न बहाना गरेर चुनाव हुँदैन भन्ने र यो सरकारले चुनाव गर्न सक्दैन भन्ने कुरा कहीँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ । दिइरहेको छ,’ अर्यालले भने । उनले वर्तमान सरकार कसैको निगाहामा नबनेको बताए । ‘हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका पनि होइनौँ,’ उनले भने, ‘देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा हामी सरकारमा आएका हौं ।’ उनले आफूमा कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ नभएको पनि दाबी गरे ।

‘प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ,’ गृहमन्त्री अर्यालले भने ।
छोराछोरी पुस्ताले कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाउँदा पनि नसच्चिने, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकुलतामा ब्याख्या गर्दै जाने हो भने फेरी अर्को दुर्घटना हुनसक्ने चेतावनी पनि उनले दिए । ‘अभिव्यक्ति दिइरहँदा यसतर्फ पनि सोच्न जरुरी छ,’ गृहमन्त्री अर्यालले भने ।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका काममा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको उनले बताए । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने विश्वाससमेत उनले व्यक्त गरे । राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको प्रसंगमा उनले धेरै परिणाममा विशेष अपरेसन मार्फत् लुटिएका हतियार फिर्ता ल्याइसकेको बताए। ‘ठूलो संख्यामा कैदीहरू पनि कारागार फिर्ता भैसकेका छन्,’ उनले भने ।

गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र समग्र देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जरो मूलबाट नै नियन्त्रण गर्न प्रदेश सरकारले पनि उत्तिकै काम गरिरहेको बताए । उनले फागुन २१ को चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न पनि लुटिएका सबै हतियार फिर्ता हुनुपर्ने र बाहिर रहेका कैदी बन्दी पुन पक्राउ गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले सबै तहका सरकार अहिले विशेष परिस्थितिमा रहेको भन्दै अहिलेको मुख्य कार्यभार देशमा शान्ति सुरक्षा कायम गरेर निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले प्रदेशको समग्र सुरक्षा चुनौती पहिचान गर्दै यसका लागि आवश्यक रणनीती बनाएर काम गर्न गोष्ठी सहयोगी हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु दान बहादुर कार्की, राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी प्रेमबहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको सहभागिता छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *