गृहले भन्यो–प्रदर्शनमा घुसपैठ हुनसक्छ, आन्दोलनका कार्यक्रम नगर्नू
काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत विभिन्न समूहले आह्वान गरेका धर्ना, जुलुस तथा विरोध प्रदर्शनका कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यक्रममा देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले घुसपैठ गरी अशान्ति र अराजकता फैलाउन सक्ने भन्दै आयोजकहरूलाई सचेत गराएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘जेन–जी’ पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण बनाउन केन्द्रित रहेको उल्लेख छ ।
सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन तथा राजनीतिक दलहरूसँग संवाद गरिरहेको अवस्थामा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरिएको छ ।
मन्त्रालयले आफ्ना माग राख्दा आम जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबैलाई आग्रह गरेको छ । साथै, मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवद्र्धनमा योगदान गर्न पनि अपिल गरिएको छ ।
‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
