`

अमेरिकाको डिभी भर्न अब अनिवार्य शुल्क

Nepal One HD ११ असोज २०८२ १२:५०
प्रमुख खबर

काठमाडौं । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) का लागि आवेदन दिने व्यक्तिले दर्ता शुल्क वापत अनिवार्यरुपमा एक डलर तिर्नुपर्ने नियम ल्याएको छ ।

चिट्ठामार्फत ग्रीनकार्ड प्रदान गरिने ई–डीभी आवेदन दर्ता गर्दा यसअघि अमेरिकी सरकारले शुल्क लिने गरेको थिएन । अब प्रत्येक आवेदकले एक डलर तिर्नुपर्ने नियम अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।

दर्ताका समयमा विद्युतीय दर्ता शुल्क संकलन गरिने अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा उल्लेख छ । दर्ता शुल्क एक अमेरिकी डलर हुने जनाइएको छ । उक्त शुल्क आधिकारिक सरकारी पोर्टलमार्फत् तिर्नुपर्ने बताइएको छ । आफूले तिरेको शुल्क डीभी चिट्ठा नपर्दा अथवा परेर पनि भिसाका लागि आवेदन दिन नचाहेमा फिर्ता नहुने प्रष्ट पारिएको छ ।

एक डलर तिर्न ठूलो कुरा नभए पनि नेपालजस्ता देशका नागरिकले कुन प्रक्रियाबाट बुझाउने भन्ने अन्यौल भने देखिएको छ । अधिकांश नेपालीसँग डलर कार्ड नहुने भएकोले आवेदकहरूलाई व्यावहारिक कठिनाइ हुनेछ । बैंकमार्फत एक डलर तिरेर आवेदन दिने प्रक्रिया झन्झटिलो हुने देखिन्छ । आवेदन भर्ने विभिन्न कन्सल्टेन्सीहरुले यसवापत थप शुल्क लिने सम्भावना पनि उत्तिकै छ ।

बर्सेनि विश्वभरिबाट लाखौँ मानिसले डीभी लटरी कार्यक्रमअन्तर्गत आवेदन दिने गरेका पृष्ठभूमिमा त्यसका लागि ठूलो प्रशासकीय खर्च बेहोर्नुपरेको अमेरिकी सरकारको तर्क छ । त्यसका लागि यो रकम उठाउन लागिएको हो ।

डीभी लटरी कार्यक्रमअन्तर्गत बर्सेनि विश्वभरका साढे दुई करोड मानिसहरूले आवेदन दिने गरेका छन् । यो तथ्यांक हेर्ने हो भने एक वर्षमा अब अमेरिकाले एक डलरका दरले पनि कम्तिमा साढे २ करोड डलर संकलन गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *