अमेरिकाको चर्चमा गोलाबारी र आगलागी, कम्तीमा चारको मृत्यु


मिसिगन । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
ग्रान्ड ब्ल्याङ्क बस्तीका प्रहरी प्रमुख विलियम रेनीका अनुसार, सन्दिग्ध आक्रमणकारी ४० वर्षीय थोमस जेकब स्यानफोर्ड पनि मारिएका छन् । पहिलो आपत्कालीन आह्वान आएको आठ मिनेटभित्र घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूको गोलीबाट उनको मृत्यु भएको हो ।
प्रहरी प्रमुख रेनीले आइतबार साँझको पत्रकार सम्मेलनमा भने, ‘गिर्जाघरभित्र थप दुईवटा शव फेला परेका छन् ।’ आगलागीका कारण गिर्जाघर पूर्ण क्षति भएकाले अझै केही मानिसहरू बेपत्ता हुनसक्ने बताए ।
त्यही पत्रकार सम्मेलनमा डेट्रोइटका विशेष प्रतिनिधि जेम्स डेइरले प्रारम्भिक अनुसन्धानबाट सन्दिग्ध व्यक्तिले पेट्रोलजस्तो कुनै प्रज्वलनशील पदार्थ प्रयोग गरी गिर्जाघरमा आगो लगाएको सङ्केत मिलेको बताए ।
रेनीले यसअघि नै घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी सात जनाको अवस्था स्थिर रहेको बताएका थिए । अमेरिकी समाचार माध्यमहरूका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।