माओवादीले पुस्तान्तरण प्रक्रिया थालिसक्यो : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले पुस्तान्तरण प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन् । जेन–जी आन्दोलनको मनोविज्ञानअनुसार नै माओवादी केन्द्रले पुस्तान्तरण प्रक्रिया आरम्भ गरेको दाहालको दाबी छ ।
‘हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’, बडादसैंका अवसरमा दाहालले दिएको शुभकामना सन्देशमा भनिएको छ ।
दाहालले माओवादीले उठाउँदै आएका अजेन्डा नै जेन–जीले उठाइरहेको दाबी पनि गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन् ।’