`

गाजामा युद्धविराम गर्न ट्रम्प–नेतान्याहू सहमत, यस्ता छन् ट्रम्पका २० बुँदे योजना

Nepal One HD १४ असोज २०८२ ७:४३
प्रमुख खबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा तत्काल युद्धविरामका लागि सहमत भएका छन् । सोमबार राति वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले यसको घोषणा गर्दै ट्रम्पले २० बुँदे विस्तृत शान्ति योजना सार्वजनिक गरेका हुन् ।

योजनाअनुसार, यदि हमासले यसलाई स्वीकार नगरे इजरायलसँग उसलाई ‘समाप्त गर्ने सम्पूर्ण अधिकार’ रहने र त्यसमा अमेरिकाले पूर्ण साथ दिने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूले गाजामा शान्तिपूर्ण प्रशासन स्थापना गर्ने, हमासका सबै हतियार हटाउने र इजरायल क्रमशः पछि हट्ने प्रतिबद्धता जनाएका छन् । उनले हमासले नमाने पनि यो कार्य पूरा गर्ने दृढता व्यक्त गरे । ट्रम्पको यो योजनालाई हमासले भने औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने भन्दै अस्वीकार गरेको छ ।

हेर्नुस् ट्रम्पका २० बुँदे युद्धविराम योजना

१. तत्काल युद्ध रोक्ने– सहमति भएको खण्डमा गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।
२. इजरायलको फिर्ती– इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।
३. बन्दीमुक्ति– हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नु पर्नेछ ।
४. कैदी मुक्त– इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ ।
५. शव आदान–प्रदान– प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।
६. आतंकमुक्त गाजा– गाजाबाट सबै ‘आतंकवादी’ आधार र हतियार हटाइनेछ ।
७. हमास प्रशासनमा होइन– हमास र अन्य ‘आतंकवादी’ समूहले गाजाको सरकारमा भाग लिन पाउने छैनन् ।
८. अस्थायी प्रशासन समिति– योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।
९. शान्ति बोर्ड– अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।
१०. पुनर्निर्माण योजना– गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।
११. मानवीय सहायता– तत्काल पर्याप्त मानवीय सहायता पु¥याइनेछ ।
१२. विशेष व्यापार क्षेत्र– रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।
१३. जनताको स्वतन्त्रता– गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।
१४. सुरक्षा बल– अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।
१५. पुलिस तालिम– अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजा प्रहरीलाई प्रशिक्षण दिनेछ ।
१६. सीमा सुरक्षा– इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।
१७. लडाइँ बन्द– युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।
१८. मानवअधिकार– अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।
१९. शान्ति वार्ता– इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।
२०. भविष्य योजना– स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।

ट्रम्प र नेतान्याहूले पत्रकार सम्मेलनमा कुनै प्रश्न लिएनन् । ट्रम्पले ‘सबै कुरा निश्चित र हस्ताक्षर नभएसम्म यो प्रश्नोत्तर गर्ने समय होइन’ भन्दै पत्रकारका प्रश्नहरूलाई पन्छ्याए । नेतान्याहूले पनि ट्रम्पकै निर्णयमा विश्वास व्यक्त गरे । कार्यक्रमको अन्त्यमा दुवै नेताले हात मिलाएर बिदा भएका थिए ।

प्रधानमन्त्री नेतान्याहूले सोमबार कतारमा भएको दोहा आक्रमणका लागि औपचारिक रूपमा माफी मागेका छन् । ट्रम्पको आग्रहमा उनले ह्वाइट हाउसबाटै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीलाई फोन गरेर ‘हामीले आतंकवादीलाई लक्ष्य बनाएका थियौं, कतारलाई होइन’ भन्दै कतारी नागरिकको मृत्युमा दुःख व्यक्त गरे । सेप्टेम्बर ९ मा हमास नेता खलील अल–हय्यालाई लक्ष्य गरी दोहामा गरिएको इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएपछि कतारले मध्यस्थता रोकिदिएको थियो ।

गाजामा ६६,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएपछि इजरायलमाथि विश्वव्यापी दबाब बढिरहेको छ । हालै संयुक्त राष्ट्रसंघ महासभामा नेतान्याहूको भाषणका क्रममा धेरै देशका प्रतिनिधिहरू बाहिरिएका थिए । अमेरिका भने इजरायलसँग दृढतापूर्वक उभिएको छ, र ट्रम्पले ‘अमेरिका प्यालेस्टाइनलाई देशको मान्यता दिने छैन’ भनेर स्पष्ट पारेका छन् ।

तर, बेलायत, फ्रान्स, क्यानडा र अष्ट्रेलिया जस्ता इजरायलका पुराना सहयोगीहरूले भने प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिइसकेका छन् र इजरायललाई युद्धविराम गर्न दबाब दिइरहेका छन् । इजरायलभित्रैका धेरै दलले भने हमास समाप्त नभएसम्म युद्धविराम सम्भव नभएको भन्दै नेतान्याहूले सम्झौता गरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको हो । सो आक्रमणमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए ।

त्यसक्रममा अपहरण गरिएका २५१ जनामध्ये ४७ जना अझै गाजामा छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । उता, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६६ हजार पाँच जना मारिएका छन्, जसमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *