`

गाजामा मानवीय संकट : जीवन रक्षक सेवा नै ‘ठप्प’

गाजा । गाजामा प्यालेस्टिनीहरूलाई जीवनरक्षक सहायता प्रदान गर्दै आएका दर्जनौं अन्तर्राष्ट्रिय सहायता संस्था (आइएनजीओ) माथि प्रतिबन्ध लागू भएसँगै इजरायल विश्वव्यापी आलोचनाको सामना गरिरहेको छ ।

बिहीबार इजरायलका १७ मानवअधिकार तथा वकालत संस्थाहरूले यो प्रतिबन्धको कडा निन्दा गर्दै भनेका छन् कि यसले ‘सिद्धान्तमा आधारित मानवीय कार्यलाई कमजोर बनाउँछ, कर्मचारी र समुदायलाई जोखिममा पार्छ र प्रभावकारी सहायता वितरणमा अवरोध पुर्‍याउँछ ।’

ती संस्थाहरूका अनुसार, ‘अधिकार सम्पन्न शक्ति (occupying power) का रूपमा इजरायलको दायित्व प्यालेस्टिनी नागरिकहरूलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्नु हो । तर इजरायलले यो दायित्व पूरा गर्न असफल हुनुका साथै अरूलाई त्यो कमी पूरा गर्न पनि रोकिरहेको छ ।’

इजरायलले नयाँ सरकारी नियमहरूको पालना नगरेको आरोप लगाउँदै डक्टर्स विदाउट बोर्डर्स (MSF) र नर्वेजियन रिफ्युजी काउन्सिल लगायत ३७ सहायता संस्थाको सञ्चालन अनुमति रद्द गरेको छ । नयाँ नियमअनुसार गाजा र कब्जा गरिएको वेस्ट बैंकमा काम गर्ने अन्तर्राष्ट्रिय एनजीहरूले आफ्ना कर्मचारी, वित्तीय स्रोत र सञ्चालनबारे विस्तृत जानकारी उपलब्ध गराउनु पर्नेछ । इजरायलले भने गाजामा काम गर्ने केही अन्तर्राष्ट्रिय संस्थाहरू हमास र प्यालेस्टिनी इस्लामिक जिहादसँग सम्बन्धित रहेको आरोप लगाएको छ, तर यसको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेको छैन ।

मानवीय सिद्धान्त विपरीत नियम
विशेषज्ञहरूका अनुसार यी आवश्यकताहरू मानवीय सिद्धान्तहरूको उल्लङ्घन हुन् र प्यालेस्टिनीहरूलाई सहयोग गर्ने सहायता संस्थाहरूलाई बदनाम र अवरुद्ध गर्ने इजरायली सरकारको दीर्घकालीन अभियानको निरन्तरता हुन् ।

बी’त्सेलेम र फिजिसियन्स फर ह्युमन राइट्स–इजरायल लगायतका संस्थाहरूले भनेका छन्, ‘नयाँ दर्ता प्रणालीले स्वतन्त्रता र तटस्थता जस्ता मूल मानवीय सिद्धान्तहरूको उल्लङ्घन गर्छ ।’ उनीहरूले थपे, ‘राजनीतिक अनुकूलतामा आधारित सहायता शर्त राख्नु, कानुनी जवाफदेहिताको समर्थनमा दण्ड दिनु, र प्यालेस्टिनी कर्मचारी तथा तिनका परिवारको संवेदनशील व्यक्तिगत विवरण खुलाउन बाध्य पार्नु ‘ड्युटी अफ केयर’ को उल्लङ्घन हो र कर्मचारीहरूलाई निगरानी तथा जोखिममा पार्छ ।’

‘अवैध प्रतिबन्धहरूको क्रम’
यो प्रतिबन्ध यस्तो समयमा आएको छ जब इजरायलले गाजा पट्टीमा प्यालेस्टिनीविरुद्ध नरसंहारजन्य युद्ध सञ्चालन गर्दै खाद्य, औषधि र अन्य मानवीय सहायता प्रवेशमा कडा प्रतिबन्ध लगाइरहेको छ । कब्जा गरिएको वेस्ट बैंकमा पनि इजरायली हिंसा तीव्र बनेको छ, जहाँ सेनाले दशौं हजार प्यालेस्टिनीलाई घरबाट विस्थापित गरेको छ । मानव अधिकार वाचले यसलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध भनेको छ ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्क ले यस आइएनजीओ प्रतिबन्धलाई ‘कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय पहुँचमाथिका अवैध प्रतिबन्धहरूको पछिल्लो कडी’ भनेका छन् । डक्टर्स विदाउट बोर्डर्सले सामाजिक सञ्जालमार्फत बुधबारसम्म पनि नयाँ इजरायली नियमअनुसार गाजा र वेस्ट बैंकमा काम गर्न आफ्नो दर्ता नवीकरणको प्रतीक्षामा रहेको जनाएको छ ।

डक्टर्स विदाउट बोर्डर्सले भनेको छ, ‘प्यालेस्टिनी स्वास्थ्य प्रणाली ध्वस्त छ, अत्यावश्यक पूर्वाधार नष्ट भएका छन् र मानिसहरू आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेका छन् । मानिसहरूलाई कम होइन, अझ धेरै सेवाको आवश्यकता छ ।’ ‘यदि डक्टर्स विदाउट बोर्डर्स र अन्य अन्तर्राष्ट्रिय एनजीओहरूले पहुँच गुमाए भने, सयौं हजार प्यालेस्टिनीहरू अत्यावश्यक उपचारबाट वञ्चित हुनेछन् ।’

पूर्व संयुक्त राष्ट्रसंघीय मानवीय प्रमुख तथा नर्वेजियन रिफ्युजी काउन्सिलका बोर्ड सदस्य मार्टिन ग्रिफिथ्स ले अल जजिरालाई भने, ‘यी संस्थाहरू सहायता वितरणका लागि अत्यन्तै आवश्यक छन्, विशेष गरी गाजा पट्टीमा । मानवीय कार्यमा ‘लास्ट माइल’ भनिने, वास्तविक रूपमा सहायता मानिसहरूसम्म पुर्‍याउने काम यिनैले गर्छन् ।’

अल जजिराबाट अनुवाद

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

टर्की सरकारले शुक्रबार उक्त जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । इजरायलले यसको कडा विरोध गरेको छ ।इजरायलका विदेशमन्त्री गिदोन सारले आफ्नो देशले उक्त आरोपको कडा निन्दा गर्ने बताए।

उनले भने, ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ अभ्यास हो ।’ इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्ति जारी गरी कुल ३७ संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । पूर्ण सूची भने जारी गरिएको छैन ।

यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर छन् । टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवताविरुद्धको अपराध’ गरेको आरोप लगाएको छ । टर्कीले भनेको छ, ‘इजरायलले गाजामा योजनाबद्ध रूपमा नरसंहार गरेको छ ।’

गाजामा युद्धविराम गर्न ट्रम्प–नेतान्याहू सहमत, यस्ता छन् ट्रम्पका २० बुँदे योजना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा तत्काल युद्धविरामका लागि सहमत भएका छन् । सोमबार राति वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले यसको घोषणा गर्दै ट्रम्पले २० बुँदे विस्तृत शान्ति योजना सार्वजनिक गरेका हुन् ।

योजनाअनुसार, यदि हमासले यसलाई स्वीकार नगरे इजरायलसँग उसलाई ‘समाप्त गर्ने सम्पूर्ण अधिकार’ रहने र त्यसमा अमेरिकाले पूर्ण साथ दिने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूले गाजामा शान्तिपूर्ण प्रशासन स्थापना गर्ने, हमासका सबै हतियार हटाउने र इजरायल क्रमशः पछि हट्ने प्रतिबद्धता जनाएका छन् । उनले हमासले नमाने पनि यो कार्य पूरा गर्ने दृढता व्यक्त गरे । ट्रम्पको यो योजनालाई हमासले भने औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने भन्दै अस्वीकार गरेको छ ।

हेर्नुस् ट्रम्पका २० बुँदे युद्धविराम योजना

१. तत्काल युद्ध रोक्ने– सहमति भएको खण्डमा गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।
२. इजरायलको फिर्ती– इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।
३. बन्दीमुक्ति– हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नु पर्नेछ ।
४. कैदी मुक्त– इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ ।
५. शव आदान–प्रदान– प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।
६. आतंकमुक्त गाजा– गाजाबाट सबै ‘आतंकवादी’ आधार र हतियार हटाइनेछ ।
७. हमास प्रशासनमा होइन– हमास र अन्य ‘आतंकवादी’ समूहले गाजाको सरकारमा भाग लिन पाउने छैनन् ।
८. अस्थायी प्रशासन समिति– योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।
९. शान्ति बोर्ड– अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।
१०. पुनर्निर्माण योजना– गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।
११. मानवीय सहायता– तत्काल पर्याप्त मानवीय सहायता पु¥याइनेछ ।
१२. विशेष व्यापार क्षेत्र– रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।
१३. जनताको स्वतन्त्रता– गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।
१४. सुरक्षा बल– अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।
१५. पुलिस तालिम– अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजा प्रहरीलाई प्रशिक्षण दिनेछ ।
१६. सीमा सुरक्षा– इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।
१७. लडाइँ बन्द– युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।
१८. मानवअधिकार– अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।
१९. शान्ति वार्ता– इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।
२०. भविष्य योजना– स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।

ट्रम्प र नेतान्याहूले पत्रकार सम्मेलनमा कुनै प्रश्न लिएनन् । ट्रम्पले ‘सबै कुरा निश्चित र हस्ताक्षर नभएसम्म यो प्रश्नोत्तर गर्ने समय होइन’ भन्दै पत्रकारका प्रश्नहरूलाई पन्छ्याए । नेतान्याहूले पनि ट्रम्पकै निर्णयमा विश्वास व्यक्त गरे । कार्यक्रमको अन्त्यमा दुवै नेताले हात मिलाएर बिदा भएका थिए ।

प्रधानमन्त्री नेतान्याहूले सोमबार कतारमा भएको दोहा आक्रमणका लागि औपचारिक रूपमा माफी मागेका छन् । ट्रम्पको आग्रहमा उनले ह्वाइट हाउसबाटै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीलाई फोन गरेर ‘हामीले आतंकवादीलाई लक्ष्य बनाएका थियौं, कतारलाई होइन’ भन्दै कतारी नागरिकको मृत्युमा दुःख व्यक्त गरे । सेप्टेम्बर ९ मा हमास नेता खलील अल–हय्यालाई लक्ष्य गरी दोहामा गरिएको इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएपछि कतारले मध्यस्थता रोकिदिएको थियो ।

गाजामा ६६,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएपछि इजरायलमाथि विश्वव्यापी दबाब बढिरहेको छ । हालै संयुक्त राष्ट्रसंघ महासभामा नेतान्याहूको भाषणका क्रममा धेरै देशका प्रतिनिधिहरू बाहिरिएका थिए । अमेरिका भने इजरायलसँग दृढतापूर्वक उभिएको छ, र ट्रम्पले ‘अमेरिका प्यालेस्टाइनलाई देशको मान्यता दिने छैन’ भनेर स्पष्ट पारेका छन् ।

तर, बेलायत, फ्रान्स, क्यानडा र अष्ट्रेलिया जस्ता इजरायलका पुराना सहयोगीहरूले भने प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिइसकेका छन् र इजरायललाई युद्धविराम गर्न दबाब दिइरहेका छन् । इजरायलभित्रैका धेरै दलले भने हमास समाप्त नभएसम्म युद्धविराम सम्भव नभएको भन्दै नेतान्याहूले सम्झौता गरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको हो । सो आक्रमणमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए ।

त्यसक्रममा अपहरण गरिएका २५१ जनामध्ये ४७ जना अझै गाजामा छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । उता, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६६ हजार पाँच जना मारिएका छन्, जसमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजा शहरमा इजरायली आक्रमण तीव्र : निशानाम टावरहरु

काठमाडौं । इजरायली सेनाले गाजा शहरमा रहेको एउटा अग्लो भवन ध्वस्त पारेको छ । यो ठूलो टावरलाई निशाना बनाइएको लगातार दोस्रो दिन हो ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा भवन भत्किएको भिडिओ सार्वजनिक गरेका छन् । इजरायल रक्षा बल (आईडीएफ) ले हमासले सुसी टावर प्रयोग गरिरहेको दाबी गरेको छ । हमासले भने यो कुरा अस्वीकार गरेको छ ।

यो आक्रमणमा कुनै हताहत भएको छ कि छैन भन्ने कुरा स्पष्ट छैन । शनिबारको हमलाअघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपिल गरिएका पर्चा खसालेको थियो ।

सुसी टावर पछिल्ला केही दिनमा ध्वस्त हुने दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा राखिएको भिडिओमा शहरको अल–रिमल क्षेत्रमा रहेको मुसाताहा टावर ठूलो विस्फोटपछि ढलेको देखिन्छ ।