इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
टर्की सरकारले शुक्रबार उक्त जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । इजरायलले यसको कडा विरोध गरेको छ ।इजरायलका विदेशमन्त्री गिदोन सारले आफ्नो देशले उक्त आरोपको कडा निन्दा गर्ने बताए।
उनले भने, ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ अभ्यास हो ।’ इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्ति जारी गरी कुल ३७ संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । पूर्ण सूची भने जारी गरिएको छैन ।
यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर छन् । टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवताविरुद्धको अपराध’ गरेको आरोप लगाएको छ । टर्कीले भनेको छ, ‘इजरायलले गाजामा योजनाबद्ध रूपमा नरसंहार गरेको छ ।’
