व्यासमा खोलियो नौं किलोमिटर नयाँ ‘ट्रयाक’


तनहुँ । विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्रयाक’ खोलेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र पाँच वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ ।
एक हजार ५४ आयोजना सम्पन्न
नगरपालिकाले गत आवमा वर्ष एक हजार ५४ आयोजना सम्पन्न गरेको छ । एक हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्कामार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना रु ५० लाखभन्दा बढी लागतका, एक सय ६६ वटा आयोजना रु पाँच लाखदेखि ५० लाखसम्मका र आठ सय ७२ आयोजना रु पाँच लाखभन्दा कम लागतका हुन् ।