नेपालबाट बाहिरिन थाल्यो मनसुन, यी प्रदेशमा छैन प्रभाव


काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । आज (सोमबार) देशका केही भू–भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘आज मिति २०८२ असोज २० का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ’, महाशाखाले सोमबार दिउँसो जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा उल्लेख छ ।
देशमा मनसुनी वायु कमजोर हुँदै गएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । मनसुन भित्रने सरदर मिति जुन १३ हो । तर, ठ्याक्कै यही मितिमा मनसुन भित्रने र बाहिरिने भन्ने हुँदैन । हरेक वर्ष फरक–फरक हुनसक्छ । यो वर्ष सरदरभन्दा १५ दिनअगावै अर्थात् मे २९ मा नेपालमा मनसुन भित्रिएको थियो । तर, देशभर विस्तार हुन २३ दिन लागेको थियो ।
बंगालको खाडी हुँदै मनसुन कोशी प्रदेशबाट भित्रन्छ र क्रमशः देशभर फैलिन्छ । सुदूरपश्चिमबाट क्रमशः कोसी प्रदेश नै हुँदै मनसुन बाहिरिन्छ। अंग्रेजी क्यालेन्डरका चार महिना–जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । मनसुन अवधिमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत हाराहारीमा पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।