`

मुद्दा हार्ने निश्चित भएपछि इजलासमै न्यायाधीशको गोली हानी हत्या

Nepal One HD २१ असोज २०८२ १०:०१
प्रमुख खबर

काठमाडौं । अल्बानियामा अदालतभित्रै गोली हानी न्यायाधीशको हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्बानियाको राजधानी तिरानास्थित पुनरावेदन अदालतमा सोमबार मुद्दा सुनुवाइ गरिरहेका बेला न्यायाधीश एस्ट्रिट कालाजाको हत्या गरिएको हो ।

प्रतिवादीले आफूले मुद्दा हार्ने देखेपछि अदालतमा भिडभाडका बीच न्यायाधीशमाथि गोली हानेका हुन् । गोली लागेर अन्य दुई जना घाइते पनि भएका छन् । घटना हुनासाथ प्रहरीले आक्रमणकारीलाई तत्काल पक्राउ गरेको जनाइएको छ ।

प्रहरीको विज्ञप्ति अनुसार, गोली लागेर गम्भीर घाइते न्यायाधीशलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर बाटोमै उनको मृत्यु भयो । मुद्दामा अर्को पक्षका एक पुरुष र उनका छोरालाई पनि गोली लागेको छ । उनीहरूलाई पनि अस्पताल लगिएको छ । उनीहरूको अवस्था हाल स्थिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली चलाउने ३० वर्षीय संदिग्धलाई भाग्न खोज्दा पक्राउ गरिएको हो । उनको साथबाट रिभल्भर बरामद गरिएको छ ।स्थानीय मिडिया रिपोर्टका अनुसार, मुद्दा सम्पत्ति विवादसँग सम्बन्धित थियो । जब अभियुक्तले आफूले मुद्दा हार्ने थाहा पाए तब न्यायाधीशमाथि गोली चलाएको दाबी गरिएको छ । अधिकारीहरूले भने संदिग्धको मनसायबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइसकेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *