जेनजी अलायन्स प्रतिनिधिले अख्तियार प्रमुखको राजीनामा माग्दै बुझाए पत्र


काठमाडौं । जेनजी अलायन्सको टोली अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गरिएको निवेदन दर्ता गरी फर्किएको छ ।
आज (मंगलबार) बिहान अलायन्सका पाँच प्रतिनिधि अख्तियारको कार्यालय टंगालमा पुगेर राजीनामा माग गरिएको निवेदन दर्ता शाखामा दर्ता गरी फर्किएका हुन् । दर्ता गर्न अमित खनाल, रिजन राना मगर, मोनिका निरौला, हेम चौधरी र पेमा लामा पुगेका थिए ।
उक्त अलायन्सले सोमबार प्रेस विज्ञप्ति जारी गरी राईको स्वेच्छिक राजीनामाको माग गरेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ नगरी प्रेम राईलाई नियुक्त गरिएको र विभिन्न मुद्दामा समेत मुछिएको आरोप लगाउँदै राजीनामाको माग गरेको छ ।
राईको नाम नेपाल आयल निगमनको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिद प्रकरणमा मुछिएको आरोप छ । आयोगका पदाधिकारीलाई पदबाट हटाउन महाअभियोग लगाउनु पर्छ। जसका लागि संसदको आवश्यकता छ । संसद नभएको अवस्थामा उक्त काम सम्भव नरहेको भन्दै राजीनामाको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।