`

कोशी सरकारले हेलिकप्टरबाट इलाम पुर्‍यायो राहत

Nepal One HD २१ असोज २०८२ १२:२७
प्रमुख खबर

विराटनगर । पहिरोले सडक मार्ग अवरुद्ध भएपछि कोशी प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत इलामका पहिरो प्रभावित क्षेत्रहरूमा राहत सामग्री पुर्‍याएको छ । आज बिहानैदेखि मुख्यमन्त्री हिक्मतकुमार कार्की स्वयं फिल्डमा खटिएर राहत वितरण कार्यमा सहभागी भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा चामल, दाल, नुन, तेल, आलु, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल जस्ता दैनिक उपभोग्य सामग्रीहरू हवाईमार्गबाट माङसेबुङ र इलाम नगरपालिका क्षेत्रमा पुर्‍याइएको हो । मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार, स्थलमार्ग अवरुद्ध भएपछि हवाई विकल्प रोजिएको हो ।

मुख्यमन्त्री कार्की स्वयं इलाममा
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय सरकारसँगको समन्वयमा माङसेबुङ र इलाम नगरपालिकामा पुगेर राहत वितरण गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले दुवै पालिकामा करिब २०० जनालाई पुग्ने गरी राहत सामग्री लिएर टोली इलाम पठाइएको जानकारी दिए ।

अन्य प्रभावित पालिकामा पनि राहत पठाउने तयारी
आजै माई नगरपालिका क्षेत्रका प्रभावितहरूलाई समेत राहत वितरणको तयारी भइरहेको मन्त्री भण्डारीले बताएका छन् । उनले थपे, ‘जेन–जी आन्दोलनका क्रममा मन्त्रालयका धेरै सवारी साधनमा क्षति पुगेकाले प्रारम्भिक उद्धार तथा राहत कार्यमा असर परेको छ ।’

राहत गोदाम विराटनगर र इनरुवामा
प्रकोप नियन्त्रणका लागि कोशी सरकारले विराटनगर भन्सार कार्यालय र इनरुवास्थित गोदामहरूमा राहत सामग्रीको मौज्दात राखेको छ । सडक अवरुद्ध भए पनि हवाई र सम्भव अन्य माध्यमबाट सबै प्रभावित क्षेत्रमा आजै राहत पुर्‍याइने प्रदेश सरकारको भनाइ छ ।

सात स्थानीय तहमा क्षति
पछिल्लो बाढी–पहिरोले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *