बसाईसराईले १५ हजार हेक्टर जमिन बाँझै


बागलुङ । बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि बाँझिने क्रम बढेको छ । कतै सिउँडी पलाएका छन्, त कतै बनमाराले ढाकिएका छन् । घर पनि रुग्ण बनेका छन् ।
काठेखोला गाउँपालिका तथा जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको संख्या अत्यधिक छ । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । युवा शक्ति विदेश पलायन भइरहेको छ । यही कारणले बर्सेनी जमिन बाँझोमा परिणत हुँदैछ ।
यसले उत्पादनमा असर परेको छ । बागलुङमा कूल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ । त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ । हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए ।
कूल जमिनको २५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेकामा अहिले १७ प्रतिशत जमिनमा मात्र खेती हुने गरेको छ । बागलुङमा १५ हजार ६४५ हेक्टर जमिन बाँझो रहेको र आगामी वर्ष अझै घट्ने देखिएको अधिकारीले बताए । ‘जिल्लामा १४ हजार ६२५ हेक्टर जमिन बाँझो छ, एक हजार २० हेक्टर जमिनमा खती नगरी अन्य प्रयोगका लागि प्रयोग भएको छ’, उनले भने ।
जैमिनी–४ की देवी शर्माले काम गर्ने व्यक्तिको अभावले आफ्नो ८० प्रतिशत बारी झाडीमा परिणत भएको बताइन् । पहिला २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गरेको सम्झिँदै उनले भनिन्, ‘पैसा दिएर पनि खनजोत गर्ने खेताला पाइन छाडे ।’ काठेखोला–८ लेखानीका मेघराज कँडेलले पछिल्लो १० वर्षमा गाउँको आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको बताए । गाउँमा बूढाबूढी मात्रै रहेकाले काम गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो बनेको उनको भनाइ छ ।