प्रचण्डको प्रस्ताव : यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, परिमार्जन गरौं


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको आवश्यकता औंल्याउँदै नयाँ राष्ट्रिय सहमतिको प्रस्ताव गरेका छन् । राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले वर्तमान संविधानले अबको परिस्थितिमा काम नगर्ने दाबी गर्दै परिमार्जन आवश्यक रहेको बताएका छन् ।
‘यो संविधानले अहिलेकै रूपमा काम गर्दैन,’ प्रचण्डले भने, ‘संशोधन-परिमार्जन गरौं । त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ उनको प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, संविधानको समग्र पुनरावलोकन र वर्तमान राजनीतिक संरचनामाथिको बहस समेटिएको छ ।
स्वाधीनता र सार्वभौमसत्तामाथि संकट
प्रचण्डले देश गम्भीर राजनीतिक संकटमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि यति ठूलो हस्तक्षेप पहिले कहिल्यै नभएको बताए । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो,’ उनले भने ।
जेनजी आन्दोलनप्रति समर्थन
प्रचण्डले हालैको जेनजी आन्दोलनले संविधान र राजनीतिक संरचनालाई नयाँ कोणबाट हेर्न प्रेरित गरेको उल्लेख गर्दै त्यसप्रति समर्थन जनाए । ‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं,’ उनले भने, ‘यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं ।’
‘रिटायर्ड लाइफ बिताउँदिन, तर पार्टी प्रमुख हुन जरुरी छैन’
राजनीतिक जीवनबारे कुरा गर्दै प्रचण्डले आफू सक्रिय राजनीतिमा रहने तर सधैं पार्टीको शीर्ष नेतृत्वमा बसिरहनुपर्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘रिटायर्ड लाइफ त बिताउन्न, तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन,’ उनले भने, ‘पुरानो नेतृत्वले अब बिना भूमिकामा काम गर्नेछ।’ उनले तीन नेता र तीन दल एउटै हुन् भन्ने आलोचनालाई अस्वीकार गरेका छन् । ‘म लिडरसिप छोड्न तयार भएको र ज्यान जाला छोड्दिन भन्ने पनि उस्तै हो र ?’ भन्दै उनले सत्ता मोहप्रति कटाक्ष गरे ।
निर्वाचन नै अहिलेको प्राथमिकता
प्रचण्डले आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनलाई सफल बनाउनु नै हालको पहिलो आवश्यकता भएको बताए । ‘निर्वाचन सफल पार्नु अहिलेको पहिलो काम हो,’ उनले भने, ‘त्यसपछि नै संवैधानिक पुनरावलोकन, राजनीतिक सुधार र राष्ट्रिय सहमतिको प्रक्रिया अघि बढ्न सक्छ ।’ ‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ । त्यसमा हाम्रो असहमति पनि छ,’ प्रचण्डले भने, ‘तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचनतिरै लाग्नुपर्ने हुन्छ ।’
घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहीत निर्वाचन होस् भनेर माओवादी केन्द्रले निर्वाचनमै जाने निर्णय गरेको उनले दाबी गरे । ‘हाम्रा केही रिजर्भेसन छन्, तर अहिलेको अवस्थामा निर्वाचन वातावरण बनाउने नै हो,’ प्रचण्डले भने । निर्वाचन हुनै सकेन भने अर्को कुरा सोच्न सकिनेतर्फ पनि उनले इंगित गरे । उनले भने, ‘निर्वाचन हुनै सकेन भने हामी सबै लाग्दा पनि भने त्यो विकल्पको कुरा होला । तर अहिले निर्वाचन सफल पार्ने र प्रतिनिधिसभा ल्याउनेतिर जोड गर्यौं ।’
‘मलाई आफ्नै भाषण सुन्दा ज्योतिषी जस्तो लाग्छ’
ठट्यौली शैलीमा प्रचण्डले विगतका आफ्नै भाषणहरू सुन्दा भविष्यवाणी मिले जस्तै लाग्ने बताएका छन् । ‘मलाई आफ्नै पुरानो भाषण सुनेँ भने, ज्योतिषीले बोले जस्तो लाग्छ, जे भन्यो त्यही भएको छ,’ उनले भने ।