आदिवासी जेनजी कलेक्टिभको चेतावनी : टासीमाथिको दुर्व्यवहार स्वीकार्य छैन


काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा भ्रामक र आपत्तिजनक आरोप लगाई दुर्व्यवहार गरिएकोमा गम्भीर निन्दा गरेको छ । कलेक्टिभले २५ वर्षीया ल्हान्जोममाथि लगाइएका ‘नेपाली जस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ जस्ता निराधार आरोपहरूको सशक्त खण्डन गरेको छ ।
हालै सामाजिक सञ्जालमा फैलिएका यी आरोपहरूमा टासीलाई मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुने जस्ता भ्रामक कुराहरू उल्लेख गरिएका छन् । कलेक्टिभले जारी गरेको विज्ञप्तिमा शताब्दीयौंदेखि आदिवासी समुदायलाई भाषा, संस्कृति र शारीरिक बनावटका आधारमा राज्यबाट बहिष्करण गरिएकोमा दुःख व्यक्त गरेको छ । संविधानले समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा भने विभेद कायमै रहेको कुरामा जोड दिइएको छ । विशेषगरी आदिवासी महिला र नागरिकहरूलाई अदृश्य बनाइएको र उनीहरूमाथि दोहोरो–तेहोरो अन्याय थोपरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी महिला र नागरिकहरूलाई सम्पूर्ण अधिकारसम्पन्न नागरिकको मान्यता दिनुपर्छ । यस्ता अधिकारका कानुनी क्षेत्रमा सीमित होइन व्यवहारिक र आदिवासीहरूका प्रत्यक्ष जीवनमा न्याय र जवाफदेही कार्यान्वयन सुनिश्चित गरिनुपर्छ । कुनै पनि आधारमा आदिवासी समुदाय र आदिवासी महिलाहरूमाथि गरिने-हुने विभेद र अन्याय दण्डित हुनुपर्छ ।’
कलेक्टिभले नेपाल सरकारसँग प्रमाणित नागरिकता प्रमाणपत्र र हस्ताक्षरकर्ताहरू रहेको कागजात पेश गर्दै टासी ल्हान्जोम पूर्ण नेपाली नागरिक भएको स्पष्ट पारेको छ । विज्ञप्तिमा आदिवासी जेन–जी कलेक्टिभ र जेन–जी मुभमेन्ट एलायन्सका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले संविधानमा आधारित समावेशी लोकतन्त्र र न्याय, आत्मनिर्णयको अधिकार, सामुदायिक एवं सामूहिक स्वायत्त पहिचानसहितका मौलिक हकको सम्मानका लागि जोडदार माग राखेका छन् ।
हेर्नुस् विज्ञप्ती