मुलुक अझै पनि ठूलो ‘शून्यता’ मा जान सक्ने जोखिम छ : सञ्चारमन्त्री खरेल


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम कायमै रहेको बताएका छन् । मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने उनले बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगेका मन्त्री खरेलले मुलुकलाई भ्याकुममा जान नदिन निर्वाचन सुनिश्चत गर्ने काममा सरकार लागेको बताए ।
दलहरुसँगको संवादहीनता अन्त्य भएकाले अब २१ फागुनमा तोकिएको निर्वाचन सुनिश्चित बनेको उनको भनाइ छ । सिंगै मुलुक निर्वाचनमा होमिएको भन्दै उनले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाइने बताए । दुई दिने जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा द्विविधा नराख्न पनि आग्रह गरे । जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड तथा आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे । उनले अनलाइन सञ्चार माध्यम सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवतः तिहार अघि नै सुरु हुने जानकारी दिए । मन्त्री खरेलले पत्रकारहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।