`

तिहारमा ४५ लाख वटा सयपत्री र साढे ५ लाख थान मखमली माला खपत हुने अनुमान

Nepal One HD २७ असोज २०८२ १०:४९
अर्थ समाचार

काठमाडौं । यसपालिको तिहारमा काठमाडौं उपत्यकामा ४० करोड रुपैयाँ बराबरको ४५ लाख वटा सयपत्री र साढे ५ लाख थान मखमली माला खपत हुने अनुमान गरिएको छ । तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठुलो सङ्ख्यामा मालाको खपत हुने गर्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । यस्तै गोदावरी फूलको समेत खपत उल्लेख्य परिमाणमा हुने गर्छ ।

तिहारको पाँच दिनमा ४० करोडको फूल र मालाको कारोबार हुने फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए । तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीका लगाउन सयपत्री मालाको खपत धेरै हुने गर्छ ।

मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले बताए । प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उनले जानकारी दिए ।

युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ । यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० देखि एक सय रुपैयाँसम्म रहेको छ । यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ४५ सम्म रहेको छ । एशोसिएसनले साढे ५ लाख थान मखमली मालामध्ये २ लाख थान निर्यात हुने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *