बैंकमा थुप्रियो साढे ११ खर्ब, तरलता बढेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिकेको झसक्यै
काठमाडौं । चालु आर्थिक वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरुमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा गरिएको थियो । तर, भदौ २३ र २४ को प्रर्दशनपछि सृजना भएको असहज परिस्थितिका कारण कर्जा विस्तार ठप्पजस्तै भएको बैंकहरूले जनाएका छन् ।
बैंक तथा वित्तीय संस्थामा करिब साढे ११ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । असोज तेस्रो सातासम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ६० अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४ दशमलव ५५ प्रतिशत छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब २९ रुपैयाँ छ । उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ।
गत साउनमा बैंक तथा वित्तीय संस्थामा १० खर्ब १२ अर्ब र भदौमा १० खर्ब ४६ अर्ब रुपैयाँ ऋण दिनमिल्ने रकम रहेको थियो । असोज तेस्रो सातासम्म आइपुग्दा यस्तो रकम झनै बढेर ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो । गएको आर्थिक वर्षका ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकोमा असार मसान्तमा एक्कासि बढेर साढे १० खर्ब रुपैयाँ पुगेको थियो । त्यसपछिका महिनामा पनि ऋण दिन मिल्ने थपिने क्रम रोकिएको छैन ।
बजारमा लगातार तरलता बढेपछि राष्ट्र बैंकले पनि नियमित रुपमा बजारबाट पैसा झिकिरहेको छ । सोही क्रममा आइतबार पनि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिकेको थियो । दसैंपछिको कार्यालय खुलेको पहिलो दिन गत मंगलबार ९० अर्ब, बुधबार २० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । यसरी झिकिएको रकममध्ये आइतबारसम्म राष्ट्र बैंकले सँग ७ खर्ब ६५ अर्ब रुपैयाँ छ । उल्लिखित रकम राष्ट्र बैंकले छोटो समयका लागि तानेकाले परिपक्व अवधिपछि सो रकम बजारमा आउँने छ । यसले बजारमा झनै अधिक तरलताको अवस्था सृजना हुने देखिन्छ ।
