उद्योगको पर्खाल भत्किएर किच्दा तीनको मृत्यु, दुई जना घाइते


चितवन । पूर्वी चितवनको रत्ननगरस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो बुधबार बिहान ९ः५० बजे भत्किएको हो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना मजदुर घाइते भएका थिए । त्यसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइतेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको खनालले बताए ।