`

मेचीनगरमा भेटियो दुर्लभ ‘हरित परेवा’को बथान

Nepal One HD ३ कार्तिक २०८२ २०:४३
समाचार

काठमाडौँ, ३ कात्तिकः दुर्लभ मानिएको ‘हरित परेवा’को ठूलो बथान मेचीनगरमा फेला परेको छ । वन्यजन्तु फोटोग्राफर देवेन्द्र खरेल र संरक्षण अभियन्ता शङ्कर लुइँटेलले बथान फेला पारेका हुन् ।

मेचीनगर नगरपालिका– ४ बाहुनडाँगी र वडा नं ६ काँकडभिट्टा क्षेत्रमा विगत चार दिनमा ९१ वटाको सङ्ख्यामा ती दुर्लभ चरा गणना गरिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताउनुभयो ।

अङ्ग्रेजीमा ‘ग्रिन इम्पेरियल पिजन’ नाम दिइएको हरित परेवाको रङ हरियो हुन्छ । खरेलले नै विसं २०७७ मङ्सिर ९ गते मेचीनगर–७ सतिघट्टाको सिमलको रुखमा नेपालमै पहिलोपल्ट हरित परेवा फेला परेको तस्बिर खिचेर यो चरा नेपालमा पाइन्छ भन्ने प्रमाणित गर्नुभएको थियो । उहाँले तस्बिर खिचेपछि नेपालमा पाइने चराको प्रजातिमा हरित परेवा थपिएको थियो ।

नेपालको मेचीनगर क्षेत्रमा मात्र पाइएको यो चरा घरेलु परेवा, ढुकुर र हलेसोभन्दा आकारमा ठूलो हुने उहाँले बताउनुभयो । यसको आकार ४२ देखि ४७ सेन्टिमिटरसम्म लामो हुने र नेपालसहित भारत, श्रीलङ्का, चीन, इन्डोनेसिया र फिलिपिन्समा यो चरा पाइएको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलले मेचीनगर–४ बाहुनडाँगीमा हरित परेवाको बथान देखेपछि फोटो र भिडियो खिचेको बताउनुभयो । यसअघि मेचीनगरको दक्षिणी क्षेत्रमा मात्र यो चरा भेटिने गरेको थियो ।

विगत चार दिनमा बाहुनडाँगी र काँकडभिट्टाको सहरी र ग्रामीण क्षेत्रमा ९१ वटाको बथान भेटिनुले मेचीनगर हरित परेवाको स्वर्गसरी भएको खरेलको भनाइ छ । उहाँले मेचीनगरमा चरा ३३७ प्रजातिका चरा पाइएको हुँदा नगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने माग गरिएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *