सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछ : सभामुख घिमिरे


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् ।
आज बिहीबार दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले भने, ‘युवा पुस्ताको विद्रोहपछि मुलुकमा शान्ति र स्थायित्वमा अन्योलता देखिएको अवस्थामा सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्यबाटमात्रै देशले निकास पाउनेमा विश्वस्त छु ।’
उनले युवाहरूले उठाएका भ्रष्टाचारको अन्त्य र सुशासनका मागलाई पूरा गर्न सबैको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरेका छन् । साथै उनले परम्परादेखि हर्षोल्लासका साथ घर–घरमा दीप प्रज्वलन गरी मनाइँदै आएको तिहारले सबै नेपालीको जीवनमा उज्यालो, खुसी र आनन्द ल्याओस् भनी कामना पनि गरेका छन् ।
‘दीपावलीले नेपालीहरू बीचको आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भाव अझ बलियो बनाउने प्रेरणा प्रदान गर्ने विश्वास समेत लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ, ‘यो उज्यालो पर्वले हामी सबैलाई लोकतन्त्र, संविधान तथा राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै समुन्नत र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् ।’