`

स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

Nepal One HD १० कार्तिक २०८२ १५:३२
प्रमुख खबर

काठमाडौं । अधिवक्ता समेत रहेका राजसंस्था पुनःस्थापना अभियन्ता स्वागत नेपालसँग प्रहरीको साइबर ब्युरोले करिब ६ घण्टा बयान लिएको छ । भोटाहिटीस्थित ब्युरोमा आइतबार अधिकारीहरूले उनीसँग दिउँसो २ बजेदेखि राति करिब ८ बजेसम्म बयान लिएका हुन् । त्यसपछि उनलाई फेरि उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाइएको हो । सनाखतका लागि उनलाई ११ कात्तिकमा पनि ब्युरोमा उपस्थित हुन भनिएको छ । उनले आफूविरुद्ध प्रधानमन्त्री सुशीला कार्कीले उजुरी दिएको हो वा प्रहरीलाई लागेर अनुसन्धान गरेको भनेर प्रश्न पनि गरेका छन् । ११ गते आफूविरुद्ध उजुरी नदेखाइ सनाखत नगर्ने नेपाल बताएका छन् ।

नेपालसँग सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले भने । एसपी अवस्थीका अनुसार आज बिदा परेकाले भोलि (मंगलबार) थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध निराधार आरोप लगाएको आरोपमा अभियन्ता नेपाललाई ब्युरोले बोलाएको थियो । ‘मैले प्रधानमन्त्री सुशीला कार्कीले संविधानभन्दा बाहिर गएर कोही पनि प्रधानमन्त्री नियुक्त हुन सक्दैन भनेर विगतमा दिएको अभिव्यक्तिकै आधारमा उहाँलाई अनैतिक भनेको थिएँ । उहाँले चुनाव गराउन सक्नु हुन्न भन्ने पनि उहाँकै अभिव्यक्तिमा आधारित थियो । जेनजीहरूले चुनाव गराउन दिनु हुन्न भनेको होइन, दिनु हुने छैन भनेको हुँ’, नेपालले भने, ‘सुशीला कार्की ज्यू अनैतिक हुनुहुन्छ भन्दा साइबर क्राइम भयो रे ।’

बयानका क्रममा नेपालले आफ्नो अभिव्यक्ति साइबर अपराधअन्तर्गत नपर्ने दाबी गरेका छन् । ‘मैले बोलेको कुन चाहिँ अभिव्यक्ति साइबर क्राइम हो ?’, उनले प्रश्न गरेका थिए, ‘साइबर क्राइम भनेको विद्युतीय कारोबर ऐन २०६३ को दफा ४७ हो । मैले भनेका कुरा त सबै राजनीतिक कुरा हुन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *