दल दर्ताको निवेदनपछि प्रकाण्डले भने–आजको दिन ऐतिहासिक र विशेष
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपालका कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन आफूहरूले प्रयास गर्ने बताएका छन् । निर्वाचन आयोगमा कम्युनिष्ट पार्टी नेपाल दल दर्ता गर्न निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कम्युनिष्ट पार्टी एकताबद्ध गर्ने उद्देश्यले समाजवादी मोर्चा गठन गरेको बताए ।
उनले भने, ‘अहिले माओवादी, नेकपा एस, नेकपा मसालसँग पनि छलफल जारी छ । एमालेसँग पनि हामीले छलफल गरिरहेका छौँ । नेपालको सबै माओवादी र कम्युनिष्ट धारहरूसँग छलफल चलिरहेको छ । कतिपयसँग घनिभूत छलफल गरिरहेका छौँ भने केहीसँग प्रारम्भ गरेका छौँ ।’
संवादमा रहेका दलहरूसँग छलफल सकारात्मक रहेको रहेको बताए । उनले थपे, ‘वैचारिक दृष्टिले हामी निकट पुगेका छौँ । अहिले बहस क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसको लिडरसिपको विषयमा चलिरहेको छ । अहिले एकताको विषय कसैसँग भाँडिसकेको छैन । कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त, नेतृत्वबारे छलफल चलिरहेको छ । यसमा गम्भीर प्रयास गर्यौँ भने केही समय लाग्छ हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ प्रकाण्डले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरेका छन् । पहिलो पटक संसदीय प्रणालीमा भाग लिएको दिन भएकाले आजको दिनलाई ऐतिहासिक भएको उनको प्रष्टोक्ति थियो । ‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुँदैछ,’ प्रकाण्डले भनेका छन्, ‘निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास
हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।’ झण्डै ११ वर्षदेखि आफ्नो पार्टी देश र जनताको पक्षमा काम गरिरहेको जिकिर गर्दै प्रकाण्डले जनताको चाहनालाई कुनै अवरोध विना फैसला गर्न पाउने विधि भनेको निर्वाचन नै रहेको बताए ।
‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव
नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिष्ट पार्टी नेपाल’ ना राख्न प्रस्ताव गरेका हुन् । आफूहरूले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए । उनले भने, ‘निर्वाचनको लागि हाम्रो लागि नयाँ अभ्यास हो । नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित हामी आएका हौं । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफै फैसला गर्ने विधि निर्वाचन भएकाले हामी आएका हौं ।’
