बजाज पल्सर र नेपाल प्रिमियर लिगबीच सम्झौता, तस्बिरहरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र इमर्जिङ प्लेअरलाई एक–एक वटा पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए । उनले एनपीएलको दोस्रो संस्करण पूर्वाधारका हिसाबले पनि निकै उत्कृष्ट हुने बताए ।

एनपीएल व्यवस्थित ढंगले आयोजना हुने जानकारी दिँदै उनले क्रिकेट प्रशंसकलाई निराश हुन नदिने उल्लेख गरे । एनपीएलको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

उनले प्रतियोगिता सुरु हुनु केही दिनअघि पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने बताए । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ ।

