`

परस्त्रीसँग होटलमा ‘डेट’ गएका पुरुषको रहस्यमय मृत्यु, महिलामाथि किटानी जाहेरी

Nepal One HD १६ कार्तिक २०८२ १४:१८
प्रमुख खबर

बुटवल । रुपन्देहीको बुटवलमा एक विवाहित महिलासँग होटल गएका एक पुरुषको रहस्यमय मृत्यु भएको छ । मृतक पुरुषका आफन्तहरूले महिलामाथि किटानी जाहेरी दिएका छन् । बुटवल–३ फूलबारीकी करिब ३० वर्षीया विवाहित महिला शनिबार दिउँसो बुटवल–६ चाँदवारीका ५६ वर्षीया पुरुषसँग होटलमा पुगेकी थिइन् । उनी दुई स–साना बालबालिकासहित बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एण्ड लज मा पुगेकी थिइन् ।

प्रहरीका अनुसार उनीहरुले होटलका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी छोरी र भतिजीलाई राखिएको थियो भने अर्को कोठामा ती पुरुष र महिला बसेका थिए । केही समयपछि उनीहरूले होटलकै कोठामा खाजा मगाएर खाएका थिए । खाजा खाएलगत्तै पुरुष अचानक बेहोस भएका थिए । महिलाले तुरुन्तै होटल सञ्चालकलाई खबर गरेकी थिइन् र होटलका कर्मचारीले उनलाई एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार मृतकको शरीरमा बाहिरी चोट पटक केही नदेखिएको र मृत्युको कारण यकिन गर्न पोष्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच कुनै पारिवारिक वा वैधानिक सम्बन्ध नरहेको देखिएको छ,’ डीएसपी रानाले भने, ‘घटनाको सम्पूर्ण पक्ष खुलाउन अनुसन्धान भइरहेको छ ।’

मृतक पुरुषका दुई छोरी र श्रीमती छन् । उनी चाँदवारीमा घर बनाएर मैनाबगर क्षेत्रमा अटो व्यवसाय गर्थे । छिमेकीहरूका अनुसार उनी मुटुका बिरामी थिए र औषधि सेवन गर्थे । मृत्युअघि उनले कुनै थप औषधि खाएको वा अन्य कारणले समस्या भएको हुन सक्ने आशंका छ ।
तर मृतककी छोरीले इलाका प्रहरी कार्यालयमा महिलामाथि किटानी जाहेरी दिएकी छिन् । प्रहरीले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यस्तै घटनापछि प्रहरीले होटल सञ्चालक र रुपन्देही होटल व्यवसायी संघका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । होटल व्यवसायी संघका अध्यक्ष माधव खनालका अनुसार घटनापछि सुरक्षात्मक तथा प्राविधिक पक्षमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
‘होटलमा बसेका पाहुनामध्ये पुरुष बेहोस भएपछि तुरुन्तै अस्पताल पु¥याइएका थिए,’ खनालले भने, ‘तर डाक्टरहरूले उनलाई मृत घोषणा गरेपछि परिवारले महिलामाथि शंका गरेको हो । अहिले प्रहरी अनुसन्धानको निष्कर्ष आउन बाँकी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *