सुदन गुरुङले आफ्नो घरमै गएर धम्की र ज्यानमाथि दागा धरेकाे एमाले नेता श्रेष्ठको आरोप
काठमाडौं । नेकपा एमालेका नेता किसान श्रेष्ठले ‘हामी नेपाल’ नामक संस्थाका प्रमुख सुदन गुरुङले आफ्नो घरमै गएर फेरि घर जलाउने धाकधम्की र ज्यानमाथि नै दागा धरेको आरोप लगाएका छन् ।
श्रेष्ठले शनिबार आफू पार्टी कामको सिलसिलामा काठमाडौंमा रहेका बेला गुरुङसहितका व्यक्तिहरू सिमरा–औराहास्थित आफ्नो घर पुगेर यस्तो धम्की दिएको आरोप लगाएका हुन् । २४ गते भएको आगजनीपछि पुनर्निर्माण कार्यमा व्यस्त रहेका कामदारलाई समेत गुरुङले डरत्रास सिर्जना गर्ने उद्देश्यले गाली–गलौज र धम्की दिएको आरोप उनले लगाएका हुन् ।
विज्ञप्ति जारी गर्दै श्रेष्ठले भनेका छन्, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनर्निर्माण गर्दै रहेका मेरा कर्मचारी–कामदारलाई धम्क्याउने, घर फेरि जलाइदिन्छु भन्ने धम्की दिने, तेरो नेतालाई पनि जे पनि हुनसक्छ भन्ने जस्ता अभिव्यक्तिप्रति गम्भीर आपत्ति गर्दछु ।’
श्रेष्ठले जेनजीको नाममा फैलिँदै गएको आतंक र अराजक गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेका छन् । एमाले नेता श्रेष्ठले जेन–जीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार समक्ष माग गरेका छन् । उनले ३ र ४ गते सिमरामा भएको प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
