`

पार्टी घोषणा गर्दै सन्तोष परियारले भने, ‘सजिलो बाटो होइन, जिम्मेवारीको यात्रा’

Nepal One HD ७ मंसिर २०८२ १३:५५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि टाढिँदै प्रगतिशील लोकतान्त्रिक यात्रामा उभिएका नेता सन्तोष परियारले नयाँ राजनीतिक दिशातर्फ अग्रसर हुन सबै तहका नागरिकलाई आह्वान गरेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित वृहत् एकता घोषणा सभामा परियारले वर्तमान पुस्ताले सामना गरिरहेको चुनौतीलाई स्विकार्दै अब संघर्षको बाटो समात्नु पर्ने आवश्यकता जोड दिए ।

कार्यक्रमको अध्यक्षता गर्दै परियारले अग्रज पुस्ताको अनुभव, जेन–जी युवाको ऊर्जा र अहिलेको पुस्ताको जिम्मेवारीलाई एउटै धागोमा गाँस्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘हाम्रो बाटो सजिलो छैन, तर हामीसँग सजिलो बाटो चुन्ने विलासिता पनि छैन । यदि आज पनि समस्या देखेर पन्छियौँ भने इतिहासले हामीलाई बेइमान पुस्ता भन्छ ।’

परियारका अनुसार जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाले देशलाई अनिश्चितताको मोडमा पुर्‍याएको छ । उनले सबै वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई संकिर्णता त्यागेर साझा अभियानमा सहभागी हुन आग्रह गरे । उनले इतिहासबारे प्रहार गर्दै भने, ‘आजसम्म शासकका इतिहास लेखिन्छ । शिकारका कथा हराइसके, सिकारीका मात्र लेखिन्छन् । अब जनताको इतिहास लेख्नुपर्ने बेला आएको छ ।’ सोही क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा गर्दै परियारले युवापुस्ता, श्रमिक, मजदुर, बुद्धिजीवी र परिवर्तन चाहने सबैलाई एउटै मोर्चामा उभिन आह्वान गरे ।

‘देशका नमूखा, मजदुर, श्रमिक, गरिब जनतालाई न्याय गर्ने हो भने एकताबद्ध भएर लड्नु पर्छ,’ परियारले भने, ‘आज निर्णय लिन ढिलाइ भयो भने भोलि इतिहासले हामीलाई माफ गर्ने छैन ।’ परियारले एकता, इमानदारी र निरन्तर संघर्षमार्फत मात्र देशले नयाँ दिशा पाउने विश्वास व्यक्त गरे । उनले परिवर्तनको लक्ष्य साझा भएकाले फरक–फरक बाटो छाडेर अब एउटै मोर्चाबाट अघि बढ्नु पर्नेमा जोड दिए ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *