`

हङकङ आगलागी : मृत्तकको संख्या ४४ पुग्यो, २७९ जना बेपत्ता

Nepal One HD ११ मंसिर २०८२ ७:५३
प्रमुख खबर

काठमाडौं । हङकङको ताइ पोस्थित एक उच्च–आवासीय क्षेत्र बुधबार दिउँसो भीषण आगलागीले त्रसित बनायो । ३२ तले वाङ फुक कोर्ट नामको भवनबाट सुरु भएको आगो तीव्र हावाका कारण विस्तारै वरपरका अन्य टावरहरूमा फैलिँदै गएपछि परिस्थितिले भयावह रूप लिएको हो । आगलागी सुरु भएको करिब १६ घण्टा बिते पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा अहिलेसम्म ४४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ४० जनालाई घटनास्थलमै मृत घोषणा गरिएको हो । २७९ जना अझै सम्पर्कविहीन छन् भने कम्तीमा ६२ जना घाइते भएका छन् । घाइतेहरूमा धेरैजसो गम्भीर जलन तथा धुवाँ सास फेर्दा हुने समस्या देखिएको बताइएको छ ।

आगलागी भएको आवासीय क्षेत्रका भवनहरूमा करिब २ हजार अपार्टमेन्ट रहेका थिए, जसमा धेरैजसो वृद्धवृद्धा पनि रहेका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । सयौँ अग्निनियन्त्रक, प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरी विभिन्न कोणबाट पानीको फोहोरा हानिँदै आगो नियन्त्रणको प्रयास जारी छ । आगलागीलाई हङकङको सबैभन्दा उच्चतम ‘स्तर–५’ आपतकालीन वर्गीकरणमा राखिएको छ ।

उद्धारका क्रममा एक ३७ वर्षीय अग्निनियन्त्रकको ज्यान गएको छ भने अर्को एक जना अत्यधिक तापका कारण बिरामी परेका छन् । करिब ९ सय प्रभावितलाई नजिकैका केन्द्रहरूमा अस्थायी आश्रय उपलब्ध गराइएको छ । उच्च तापक्रम, झरिरहेका भग्नावशेष र भत्किन लागेको बाँसको स्काफोल्डिङका कारण उद्धारमा जोखिम झनै बढेको अधिकारीहरूको भनाइ छ ।

प्रहरीले आगलागीसँग सम्बन्धित लापरबाहीका आरोपमा निर्माण कम्पनीका दुई निर्देशक र एक इञ्जिनियरिङ परामर्शदातालाई पक्राउ गरेको छ । ५२ देखि ६८ वर्ष उमेर समूहका ती तीन जनाले भवनमा प्रयोग भएका सामग्रीहरू आगो प्रतिरोधका मापदण्डअनुसार नभएको अवस्थामा पनि प्रयोग गरेको आरोप लागेका छन् । प्रहरीले एक–एक तल्लाको लिफ्ट लबी नजिक अत्यधिक ज्वलनशील स्टाइरोफोम जस्तो सामग्री भेटिएको पनि जनाएको छ ।

अनुसन्धानकर्ताहरूले आगलागी मुख्यतः भवन वरिपरि बनाइिएको बाँसको स्काफोल्डिङबाट सुरु भएको र तेज हावाले आगो छिट्टै अन्य टावरमा फैलिएको प्राथमिक अनुमान प्रस्तुत गरेका छन् । आगो नियन्त्रण विभागका अधिकारीहरूले बिहीबार बिहानसम्म चार वटा भवनमा आगो नियन्त्रणतर्फ उन्मुख अवस्थामा पुगेको जानकारी दिएका छन् ।

घटनाप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । हङकङका प्रमुख कार्यकारी जोन लीले दुर्घटनालाई सर्वोच्च प्राथमिकतामा राखिएको बताउँदै यही डिसेम्बर ७ का लागि तय भएका विधान परिषद् निर्वाचनसम्बन्धी सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको घोषणा गरेका छन् । ताइ पो प्रशासनले विस्थापितहरूका लागि अस्थायी आश्रय खुला गरिएको जनाएको छ ।

यसअघि १९९६ नोभेम्बरमा काउलुनको एक व्यावसायिक भवनमा लागेको स्तर–५ आगलागीमा ४१ जनाले ज्यान गुमाएका थिए । त्यसपछि हालको घटना हङकङमा भएको सबैभन्दा घातक आगलागीका रूपमा दर्ज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *